काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफूहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भन्दा माथि राख्न खोजेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभन्दा माथि भइसकेको मान्छे फेर खुम्चिन आउन हुँदैन भन्नेमा एमाले प्रष्ट रहेको बताएका हुन् । ‘उहाँलाई नबोलाउने त कुरा भएन । पार्टीमा भन्दा माथि राख्ने । पार्टीभन्दा माथि भइसकेको मान्छे पार्टीमा खुम्चिन आउनुपर्दैन भन्ने हाम्रो कुरा प्रष्ट छ । पार्टीले निर्णय गरिसकेको छ,’– उनले भने ।
नेता अधिकारीले भण्डारी अब एमालेको पार्टी सदस्य होइन भनेर आफूहरुले प्रष्ट भनिसकेको बताए । गणतन्त्र गौरव प्राप्त गरिसकेको, राष्ट्रको एकताको प्रतीक भइसकेको, संविधानको पालनकर्ता भएको, सेनाको परमाधिपति भएको व्यक्ति राजनीतिमा आएर दल विशेषको कार्यकर्ता बन्नु उपयुक्त नहुने उनको भनाइ छ । गणतन्त्रको संरक्षणकै लागि पनि भण्डारी सम्मानित व्यक्तित्व भएर नै रहनुपर्छ भनेर पार्टीले निर्णय गरिसकेको उनले बताए । भण्डारीको सन्दर्भलाई लिएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी निर्णयलाई चुनौती दिनु उपयुक्त नहुने उनको भनाइ छ । उनले पार्टीविरोधी गतिविधिमा नलाग्न पोखरेललाई आग्रह गरे । ‘उहाँहरु (ईश्वर पोखरेल) ले किन चुनौती दिनुपर्यो पार्टीको निर्णयलाई ? पार्टीले जे निर्णय गर्यो, त्यो निर्णय मान्दिनँ भन्नु पार्टी विरोधी गतिविधि हुन्छ । पार्टीविरोधी गतिविधि नगरुन् भन्ने हाम्रो आग्रह छ,’– उनले भने ।
साथै, उनले पार्टीमा कुनै पनि प्रकारको गुट नरहेको बताए । उनले केही दिनअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विराटनगर एयरपोर्टमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विद्या भण्डारीलाई राजनीतिमा आउन आफूले बाटो खोलिदिएको भनी गरेको दाबीले पनि एमालेमा गुट छ भन्ने देखाउन बाहिरबाट प्रयत्न भइरहेको पुष्टि हुने बताए । अहिले एमालेलाई कमजोर बनाउनका लागि दरबारीयादेखि अराजकतावादी तत्वहरु लागिराखेको उनको दाबी छ ।
‘गुट छैन । बाहिरबाट बनाउन खोजिएको छ । प्रचण्डले अस्ती विराटनगर एयरपोर्टमा जाँदा मैले बाटो खोल्दिएको भन्नुभएछ । अरुले प्रयत्न गरेका छन् । एमालेलाई कमजोर बनाउँदा लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रसमेत फर्काउन सकिँदैन । यो पार्टीलाई कसरी कमजोर बनाउने भन्ने किसिमले दरबारीया तत्व लागेका छन् । अराजकतावादी तत्व लागेका छन्, आफूलाई स्वतन्त्र हुँ भन्नेहरु लागेका छन् । यस्तो बेलामा पार्टीको आन्तरिक एकतालाई आफ्नो स्वार्थको निम्ति कसैले पनि प्रयोग नगरौं,’– उनले भने ।




प्रतिक्रिया