काठमाडौं, १४ भदौ । पूर्व राजदूत एवं कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनका नेताहरुसँग नेपाललाई नसोधी लिपुलेकको मार्ग प्रयोग गर्नेबारे भएको सम्झौताबारे कुरा राख्न सक्नुपर्ने बताएका छन् । आज .(शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणका क्रममा यो विषय उठाउन सक्नुपर्ने बताएका हुन् ।
‘लिपुलेकको बाटोको बारेमा नेपाललाई नसोधी, नेपालको सहमति नलिइकन जुन सम्झौता भयो, त्यसले देशभित्र सनसनी नै आएको छ । प्रधानमन्त्रीले यो कुरा उठाउनुहुन्छ कि उठाउनुहुँदैन, समाधान गर्नलाई के पहल होला भन्ने प्रश्न व्यापक रुपमा छ । म के भन्न चाहन्छु भन्दा– उठाउनुपर्छ,’– उनले भने ।
भारत र चीनलाई लिपुलेकको बाटो चाहिएको हो भने नेपाल दिन तयार रहेको पनि उनले बताए । त्रिदेशीय वार्ता गरेर त्यो भूमिको स्वामित्व नेपालको हुनुपर्ने शर्तसहित त्यो ठाउँबाट बाटो खोल्न सकिने उनले बताए । नेपाल बाटो खोल्ने कुराको बाधक हुन नहुने उनको भनाइ छ ।
साथै, उनले भारतले लिपुलेकदेखि लिम्पियाधुरासम्मको जग्गा स्थायी रुपमा कब्जा गरेर बस्न चाहेको बताए । भारतले नेपालको भू–क्षेत्र कब्जा गर्ने मनशाय राखेको भए पनि चीनको त्यस्तो मनशाय नरहेको उनले बताए । चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत आफ्नो व्यापार र प्रभाव बढाउन चाहिरहेको उनले बताए ।
तत्कालीन समयमा नेपालका राजा महेन्द्रलाई अनुरोध गरेर भारतीय सेना लिपुलेकमा बसेको आफूले जानकारी पाएको बताउँदै पूर्व राजदूत श्रेष्ठले उक्त पत्र सार्वजनिक गर्न माग गरे । ‘भारतले महेन्द्रलाई लेखेको त्यो चिठी सार्वजनिक गर । बाहिर ल्याउ, हामीलाई जान्ने अधिकार छ । त्यो नै थप प्रमाण हो । नेपालको नभएको भए नेपालको राजालाई अनुरोध गरेर बस्न पाउँ भन्थ्यो ? त्यो नेपालको स्वामित्वको थप प्रमाण हो । पूरानो प्रमाण त सुगौली सन्धी हो,’– उनले भने ।
उनले चीनको रेल–बे काठमाडौं, पोखरा भएर लुम्बिनीसम्म जानको लागि बनाउनुपर्ने बताए । चीनबाट आउने रेल लुम्बिनीसम्म पुर्याएको खण्डका धार्मिक पर्यटनमा बृद्धि हुने र आर्थिक रुपमा पनि फाइदा हुने उनले बताए । भारतको रेल पनि रक्सौलदेखि काठमाडौं ल्याइनुपर्ने उनको धारणा छ ।




प्रतिक्रिया