काठमाडौं, १५ भदौ । पूर्व राजदूत एवं कूटनीतिज्ञ विजयकान्त कर्णले लिपुलेक सीमा विवाद भारत र नेपालबीच नै सेटल हुन आवश्यक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपनि सी जिङपिङसँग भारत र चीनले लिपुलेक मार्ग प्रयोग गर्नेगरी गरेको सम्झौताको बारेमा कुरा उठाउँदा त्यो अस्वीकृत भएको बताए । चीनले पनि अप्रत्यक्ष रुपमा यो समस्या भारत र नेपालबीच नै समाधान हुनुपर्छ भन्ने जवाफ दिएको उनको भनाइ छ । लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्नेगरी भएको सहमतिमा चीनले तेस्रो पक्ष बनेर वार्तामा सहभागी हुनसमेत अस्वीकार गरेको उनले बताए ।
‘चीनका राष्ट्रपतिले जुन जवाफ दिए, त्यो भनेको जस्तो भएन । उहाँको जवाफ के रह्यो भने भारत र नेपालले यो समस्याको समाधान गर्नुपर्छ । चीनले त्रिपक्षीय वार्तालाई अस्वीकार गर्यो । यो समस्याको समाधान भएन । हामी भारत र नेपालकै बीचमा वार्ता गर्नुपर्छ भन्ने बुझियो । चीनको भाषा हेर्ने हो भने अस्वीकार नै गरेको हो । चीनले नेपालको यो कुरालाई अस्वीकार गरेर नेपाल चीन र भारतको बीचमा भएको व्यापारिक मार्ग प्रयोग गर्ने सम्झौता जुन छ, त्यसलाई निरन्तरता दिने हामीलाई सूचना दिएको हो । यसलाई यसरी बुझ्दा हुन्छ, किन भने उसले तेस्रो पक्ष बन्न पनि अस्वीकार गर्यो । उसले नेपाल र भारत आफैंले दुई पक्षीय वार्ता गरेर यो समस्याको समाधान गर्नु भन्दियो,’– उनले भने ।
साथै, चीनमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादबारे कुरा उठाउनु कूटनीतिक रुपमा उपयुक्त नहुने उनको भनाइ छ । प्रधानमन्त्री ओली भारत जाँदा नै सीमा विवादको कुरा उठाउन उपयुक्त हुने उनले बताए । उनले भने, ‘चीनमा प्रधानमन्त्री मोदीसँग नेपालले यो कुरा उठाउनु उपयुक्त हुँदैन । चीनमा उठाउनु कूटनीतिक रुपमा त्यति उपयुक्त नहोला । फेरि भारत जाँदै हुनुहुन्छ उहाँ । त्यहाँ गएर उठाउँदाखेरी उपयुक्त हुन्छ ।’




प्रतिक्रिया