ओलीले अगुवाई गरेको सिंगो टिमलाई शानदार मतले विजयी बनाउन प्रदीप ज्ञवालीको अपिल


काठमाडौं, १ पुष । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अगुवाई गरेको सिंगो टिमलाई शानदार मतका साथ विजयी बनाउन अपिल गरेका छन्। अध्यक्ष ओलीको टिमबाट उपाध्यक्षमा सिफारिश भएका ज्ञवालीले सो पदमा उम्मेद्वारी नदिएर अन्तिम समयमा विद्रोह गरेका थिए । उनले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् । तर, आज विहान भने उनले ओलीले नेतृत्व गरेको टिमलाई नै शानदार मतले विजयी बनाउन अपिल गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

एघारौँ राष्ट्रिय महाधिवेशनका प्रिय प्रतिनिधि कमरेडहरू ! आज महाधिवेशनको सर्वाधिक महत्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु । म हमेशा तपाईँहरूकै बिचमा छु, त्यहीँ रहन्छु ।
यसपटक पार्टी केन्द्रीय कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको छु । कमरेडहरूबाट मन र मत दुबै पाउने विश्वास लिएको छु ।
धन्यवाद !
तपाईँहरूकै,
प्रदीप ज्ञवाली