थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम


बैङ्कक, १३ पुस । थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँसोदेखि लागू भएको यस सम्झौताले दुवै पक्षलाई सैन्य गतिविधि रोक्न, हवाई क्षेत्र उल्लङ्घन नगर्न र तनाव कम गर्न आह्वान गरेको छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सम्झौता हुनुअघि शनिबार बिहानसम्म थाइल्यान्डले कम्बोडियाका केही स्थानमा हवाई आक्रमण गरेको थियो । नयाँ सम्झौताले ७२ घण्टाको युद्धविरामपछि थाइल्यान्डले जुलाईको लडाइँपछि नियन्त्रणमा लिएका १८ जना कम्बोडियाली सैनिकलाई फिर्ता गर्नुपर्ने व्यवस्था गरेको छ, जुन कम्बोडियाको प्रमुख माग रहँदै आएको थियो ।

सम्झौतामा हस्ताक्षर भएको केही घन्टामै थाइल्यान्डको विदेश मन्त्रालयले विरोध जनाउँदै एक थाई सैनिक कम्बोडियाली पक्षले बिछ्याएको मानवविरोधी बारुदी सुरुङमा परेर स्थायी रूपमा अशक्त भएको जनाएको छ ।

यो सम्झौतामा कम्बोडियाका रक्षामन्त्री टी सेइहा र थाइल्यान्डका रक्षामन्त्री नट्टाफोन नार्कफानितले सीमावर्ती चौकीमै हस्ताक्षर गरेका हुन् । तीन दिनसम्म चलेको तल्लो तहका सैनिक वार्तापछि यो सहमति सम्भव भएको हो । यसले जुलाईमा पाँच दिन चलेको लडाइँ अन्त्य गर्न गरिएको अघिल्लो युद्धविराम र त्यसपछि भएका सहमतिहरूप्रति प्रतिबद्धता दोहोर्‍याएको छ ।

जुलाईको युद्धविराम मलेसियाको मध्यस्थतामा भएको थियो, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबले गति दिएको थियो । अक्टोबरमा मलेसियामै भएको क्षेत्रीय बैठकमा ती सहमतिहरूलाई औपचारिक रूप दिइएको थियो । तर त्यसपछि पनि दुवै देशबीच प्रचार युद्ध र सीमापार झडप जारी रहेर डिसेम्बरको सुरुमा पुनः ठूलो लडाइँमा परिणत भएको थियो ।

युद्धविरामको घोषणाको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्वागत गर्दै थाइल्यान्ड र कम्बोडियालाई यस र अघिल्ला शान्ति सम्झौताका सबै सर्त पालना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसलाई ‘नागरिकको पीडा कम गर्ने र स्थायी शान्तितर्फको सकारात्मक कदम’ भनेका छन् ।

चीनले पनि सम्झौताको स्वागत गर्दै युनान प्रान्तमा थाई र कम्बोडियाली विदेश मन्त्रीहरूसँग त्रिपक्षीय वार्ता गर्ने तयारी जनाएको छ । चीनले राजनीतिक विश्वास पुनर्निर्माण र क्षेत्रीय शान्तिका लागि रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

डिसेम्बर ७ देखि सुरु भएको लडाइँका कारण थाइल्यान्डतर्फ २६ सैनिक र एक सर्वसाधारणको ज्यान गएको छ भने ४४ सर्वसाधारण मारिएको थाइल्यान्डको दाबी छ । कम्बोडियाले ३० सर्वसाधारणको मृत्यु र ९० जना घाइते भएको जनाएको छ । सीमाको दुवैपट्टि लाखौँ नागरिक विस्थापित भएका छन् ।

रक्षामन्त्री टी सेइहाले युद्धविरामले विस्थापित नागरिकलाई घर फर्कन, खेतीपाती गर्न र बालबालिकालाई विद्यालय फर्कन बाटो खुल्ने बता । दुवै पक्षले एक–अर्कालाई लडाइँ सुरु गरेको आरोप लगाए पनि आत्मरक्षामा कदम चालिएको दाबी गरेका छन् ।

सम्झौताले बारुदी सुरुङसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि पालना गर्न, संयुक्त डिमाइनिङ अभियान सञ्चालन गर्न, गलत सूचना नफैलाउन र सीमाङ्कनसम्बन्धी प्रक्रिया पुनः सुरु गर्न आह्वान गरेको छ । साथै, सीमापार सङ्गठित अपराध र अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति पनि भएको छ ।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सम्झौताले नागरिकको हितलाई प्राथमिकतामा राख्ने साझा समझदारी झल्काएको बताए । यद्यपि थाइल्यान्डले ७२ घण्टाको युद्धविरामलाई कम्बोडियाले साँच्चिकै हतियार र उक्साहट रोकेको छ कि छैन भन्ने परीक्षणको समयका रूपमा हेरिएको जनाएको छ । रासस