यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा शान्तिपूर्ण समाधानमा जोड


एडेन, यमन, १३ पुस । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र थप तनाव नबढाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उनले संयुक्त राष्ट्रसङ्घका महासचिवको ‘संयम, तनाव न्यूनीकरण र संवाद’ सम्बन्धी आह्वान दोहो¥याउँदै परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि गतिविधि नगर्न सबैलाई अनुरोध गरे ।

ग्रुन्डबर्गले क्षेत्रीय स्तरमा भइरहेका मध्यस्थता प्रयासहरूको महत्त्वमा जोड दिँदै यमनका पक्षहरू तथा क्षेत्रीय सरोकारवालासँग निरन्तर सम्पर्कमा रहेको र देशमा ‘समग्र तथा समावेशी राजनीतिक समाधान’ तर्फ अघि बढ्न सहयोग गरिरहेको बताए ।

उनका यी अभिव्यक्तिहरू साउदी अरबले शुक्रबार दक्षिणी सङ्क्रमणकालीन परिषद्सँग सम्बन्धित स्थानहरूमा हवाई आक्रमण गरेपछि आएका हुन् । ती आक्रमणहरू हद्रामौत प्रान्तको प्रमुख तेल क्षेत्र नजिक रहेको घैल बिन यामिन क्षेत्रमा भएका बताइन्छ । ती घटनामा मानवीय क्षति वा सैन्य उपकरणमा क्षति पुगेको विवरण प्राप्त भएको छैन ।

यसअघि डिसेम्बर ३ मा दक्षिणी सङ्क्रमणकालीन परिषद्का बलहरूले सरकार समर्थक समूहसँगको झडपपछि हद्रामौतमा नियन्त्रण कायम गरेका थिए । त्यसपछि उनीहरूले कुनै ठूलो प्रतिरोधबिना अल–मह्राह प्रान्तसम्म आफ्नो उपस्थिति विस्तार गरेका छन् । यमन सरकार र साउदी अरबले पटक–पटक तनाव कम गर्न आग्रह गरे तापनि परिषद्ले दुवै प्रान्तमा स्थानीय बलहरू भर्ती गर्न जारी राखेको जनाइएको छ ।

यसै दिन साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले नागरिक सुरक्षाका लागि तनाव न्यूनीकरण प्रयासलाई कमजोर बनाउने कुनै पनि सैन्य गतिविधिलाई सम्बोधन गरिने बताएका थिए ।

यमनको राष्ट्रपति नेतृत्व परिषद्का अध्यक्ष रशाद अल–अलिमीले पनि शनिबार ती कदमहरूको स्वागत गर्दै दक्षिणी सङ्क्रमणकालीन परिषद्का गतिविधिलाई अस्थिरता सिर्जना गर्ने कार्यको रूपमा वर्णन गरे ।

सन् २०१७ मा गठन भएको दक्षिणी सङ्क्रमणकालीन परिषद्ले दक्षिण यमनको आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ । सन् २०२२ मा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमन सरकारमा समावेश भए पनि परिषद्ले दक्षिणी पृथकतावादी एजेन्डालाई निरन्तर अघि बढाइरहेको छ । रासस