परिवर्तनका हरेक आन्दोलनमा आदिवासी जनजाति तथा बहुल समुदायको उल्लेखनीय भूमिका


काठमाडौं, पुस १५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।

तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

संयोजक दाहालले परिवर्तनका हरेक आन्दोलनमा आदिवासी जनजाति तथा बहुल समुदायले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै, गणतन्त्रको छहारीमा उनीहरूका भाषा, संस्कृति र पहिचानलाई फक्रिन दिने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

उनले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई मजबुत बनाउँदै संविधानले सुनिश्चित गरेको समानता र समावेशिताको मर्म व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।