ओलीले संसद् विघटनको मुद्दामा छिटो फैसला मागे


काठमाडौं, १८ पुष । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा छिटो फैसला आउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विगतमा संसद विघटनका मुद्दामा सर्वोच्चले दुई महिनामा फैसला दिने गरेको स्मरण गर्दै यो कसैको निजी विषय नभई राष्ट्रको विषय भएकाले समयमै फैसला आउनु आवश्यक रहेको बताए । गत भदौ २३ र २४ गतेका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवजातीकै विरूद्ध नृशंस र दानवीय व्यवहार भएको बताए । नेपालीपन, नेपाली मनसँग कहिँ पनि नमिल्ने घटना भएको र यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उनले बताए । नयाँबर्ष सन् २०२६ का अवसरमा हिजो (बिहीबार) साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधानपनि ढल्नुसरह भएको बताए । उनले भने,‘जननिर्वाचित सरकार ढल्नु भनेको देशमा लोकतन्त्र र संविधान ढल्नु हो, जनताको सार्वभौमसत्ता थिचिनु, मिचिनु र ढालिनु हो ।’ वर्तमान सरकार असंवैधानिक भएको र संसद अनधिकृत व्यक्तिको सिफारिशमा विघटन गरिएको भन्दै यो प्रधानमन्त्री परिवर्तनको कुरा मात्र नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको उनले प्रष्ट पारे । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको भए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको र सरकारले वातावरण बनाउने दिशामा काम गरिरहेको छैन बताउँद अध्यक्ष ओलीले निर्वाचनका नाममा लोकतान्त्रिक प्रक्रिया दुरूपयोग गरेर लोकतन्त्र मास्ने प्रयास हुनसक्ने खतरा औल्याए ।

उनले भने,‘नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेहरूलाई अगुवा बनाएर अगाडि बढ्न खोजियो, निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ । निर्वाचनमा जन अभिमत स्वेच्छाले प्रकट हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण वातावरणमा स्वच्छ निर्वाचन जहिले हुन्छ, नेकपा (एमाले) निर्वाचनमा सहभागी हुने र विजय हासिल गर्ने बताए ।

निर्वाचन भइहाले त्यसका लागि तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले भने,‘आफ्नो सामथ्र्यलाई नतिजा निकाल्ने गरी लाग्नुपर्छ । निर्वाचनका लागि सबै तरिकाले तयार रहनूस् । तर, अहिले देशलाई निकास दिने सबभन्दा सही बाटो ‘विघटन भएको प्रतिनिधि सभा पुनस्र्थापना हो ।’