भोजपुर, ३ माघ । रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।
दुर्गम तथा भौगोलिक रूपमा कठिन मानिने ‘ग’ वर्गमा पर्ने यस गाउँपालिकाले यहाँ कार्यरत शिक्षकलाई सेवा सुविधामा थप सहजीकरण गर्दै स्थानीय भत्ता वितरण सुरु गरेको हो ।
गाउँपालिकाका अनुसार सङ्घीय सरकारद्वारा जारी गरिएको ‘कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुरूप स्थानीय भत्ता वितरण गरिएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आङगलाक्पा तामाङले दुर्गम क्षेत्रमा कार्यरत स्थायी शिक्षकहरुलाई प्रोत्साहन प्रदान गर्न यो व्यवस्था गरिएको बताए ।
हाल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकले आफ्नो तह र श्रेणीअनुसार नियमित रूपमा स्थानीय भत्ता पाउँदै आएका छन् । प्राथमिक तह प्रथम श्रेणीका शिक्षकले मासिक पाँच हजार ५१०, द्वितीय श्रेणीका शिक्षकले चार हजार ६०० तथा तृतीय श्रेणीका शिक्षकले चार हजार २५० स्थानीय भत्ता प्राप्त गर्दै आएका छन् ।
त्यसैगरी निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई मासिक पाँच हजार ५१० र माध्यमिक तहका शिक्षकलाई मासिक आठ हजार ८०० स्थानीय भत्ता प्रदान गरिएको छ ।
गाउँपालिका अध्यक्ष थामबहादुर राईले शिक्षकको मनोबल उच्च राख्दै शैक्षिक उपलब्धि सुधार र विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पुग्ने विश्वासका साथ भत्ता प्रदान गरिएको बताए । रासस




प्रतिक्रिया