काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समिक्षा बाँस्कोटाले पूराना राजनीतिक दलहरुले अमुक सिण्डिकेट लादेको कारण त्यो तोड्नको लागि नयाँ पुस्ता राजनीतिमा आएको स्पष्ट पारेकी छिन् । उनले फागुन २१ गते मतदाताहरुले मतविद्रोह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले आफूहरुले नेतृत्वमा पुस्तान्तरण र हस्तान्तरण चाहेको स्पष्ट पारिन् । उनले नेपालका नेताहरु विदेशीसँग लम्पसार को परेको थियो भनेर पृष्ठ पल्टाएर हेर्दा थाहा हुने भन्दै पूराना दलका नेताहरुप्रति व्यंग्य कसिन् ।
सो क्रममा उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले किन रास्वपासँग एकता गरेको वा किन छोडेको भन्ने कुरा स्वयम घिसिङले विश्लेषण गर्नुपर्ने सुझाव दिईन् । उनले भनिन्,‘उहाँ किन आउनुभएको थियो र किन छोड्नुभयो भन्ने कुराको औचित्य पुष्टि गर्न सक्नुभएको छैन । सायद उहाँलाई कसैले हाईज्याक गरेर लिएर आएको पनि होईन । एकीकरण कहिल्यैपनि मन नमिलेसम्म र व्यवहार नमिलेसम्म हुँदैन ।’
कुलमान घिसिङ उम्मेदवार बनेको काठमाडौं–३ सघाउनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले सो क्षेत्रमा रास्वपाको आफ्नै उम्मेदवार भएकोले सघाउन नसकिने स्पष्ट पारिन् । यद्धपी पार्टीले भोलि वार्ता गर्यो भने परिस्थिति अर्कै बने अर्को कुरा हुने नत्र अहिले सो क्षेत्रमा आफ्नै पार्टीका नेता उम्मेदवार भएकोले सोहीअनुसार अघि बढ्ने बाँस्कोटाको भनाई छ । उनले बालेन शाहलाई नयाँ नेपालको इतिहास लेख्न मन भएको कारण झापा–५ मा चुनावी प्रतिष्पर्धामा उत्रिएको स्पष्ट पारिन् । उनले भनिन्,‘उहाँ इतिहास लेख्नको लागि झापा–५ जानुभएको हो । उहाँले सुनौलो इतिहास लेखेर आउँदै हुनुहुन्छ ।’




प्रतिक्रिया