एमाले अध्यक्ष ओलीको प्रश्न : भदौ २३ को घट्ना स्वतःस्फूर्त थियो कि तयारीसहितको षड्यन्त्र ?


काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिंगो समाज प्रश्नैप्रश्नको घेरामा रहेको उल्लेख गर्दै आफ्ना पनि केही प्रश्न रहेको बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा गरेको सम्बोधनमा उनले जसरी अहिले आममतदाताको आफूहरुसहित स्थापित राजनीतिक दल र नेताहरुप्रति प्रश्न छन् त्यसैगरि आफ्ना पनि केही प्रश्नहरु रहेको भन्दै उल्लेख गरेका छन् ।

उनले भदौ २३ गतेअघि देश बनिरहेको थियो कि बिग्रेको थियो ? या देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिँदै थियो ? भनेर पहिलो प्रश्न राखेका छन् । यस्तै, भदौ २३ गतेको जनेजी प्रदर्शनमा कसले घुसपैठ गर्यो ? आयोजकहरुका घोषित कार्यक्रमअनुसार शान्तिपूर्ण प्रदर्शन सकियो भन्दै घर फर्कन लागेका युवाहरुलाई निषेधित क्षेत्रतर्फ जान बाध्य कसले गर्यो ? भनेर दोस्रो प्रश्न राखेका छन् ।

यस्तै, भदौ २३ को घट्ना स्वतःस्फूर्त थियो कि तयारीसहितको षड्यन्त्र ? या भदौ २४ को विध्वंशको लागि आधार तयार पार्न घुसपैडियाहरुले भड्काएको हिंसा ? भनेर अर्को प्रश्न पनि उनले अघि सारेका छन् । ओलीले अघि सारेको अर्को प्रश्न जेनजी प्रदर्शनकारीका सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरेझैं प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ? भन्ने रहेको छ ।

उनले राखेको अर्को प्रश्नमा ‘त्यो आफूअनुकुल सरकार बनाउने वा चुनाव गराउने योजनामात्रै थियो भने व्यवसायिक प्रतिष्ठानहरु किन जलाईयो ? विचारमात्रै बोकेको कारण एकैसाथ पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका साधारण पार्टी समर्थक समेतका निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी किन गरियो ?’ भन्ने रहेको छ । उनले अघि सारेको अन्तिम प्रश्न भने यदि त्यो राजनीतिक प्रतिशोध थियो भने आफ्नो कर्तव्य पालना गरिरहेका राज्यका सुरक्षाकर्मीमाथि आक्रमण किन गरियो ? भन्ने पनि रहेको छ ।

उनले एमालेले सधैं राष्ट्र पहिलाको नीतिमा स्थिरताको लागि यथेष्ट योगदान गर्दै आएको दाबी गरेका छन् । उनले आज नयाँ कि पूरानो भन्ने असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भएकोबारे उल्लेख गर्दै आज नयाँ भनिएका कोही पनि नयाँ नभएको टिप्पणी गरे । उनले भने,‘भ्रममा पर्न हुन्न, नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरुले स्थानीय होस् कि संघीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत देखाईसकेका छन् ।’

एमालेका विगतका आफ्नो कामको अभिलेखहरु नै रहेको भन्दै आन्दोलनमा मात्र नभएर नीति सुशासन र विकास निर्माणमा पनि एमालेले आफूलाई नेता साबिता गरेको उनको दाबी छ । तस्विर स्रोत : बालकोट/फेशबुक पेज