खैबर पख्तुनख्वामा दुई दिनमा २० को ज्यान गयो


पेसावर (पाकिस्तान), १४ फागुन। अफगान सीमामा चुलिँदो तनावकै बीच उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो ४८ घण्टाभित्र भएका शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । प्रहरी स्रोतका अनुसार मारिनेमा १५ जना प्रहरी कर्मचारी र चार जना सर्वसाधारण रहेका छन् भने दुई प्रहरी अधिकारी अझै बेपत्ता छन् ।

पेसावरस्थित एक वरिष्ठ प्रहरी अधिकारीले विगत दुई दिनयता प्रान्तका विभिन्न जिल्लामा भएका विस्फोट, गोलीबारी र लक्षित आक्रमणमा ठूलो क्षति पुगेको बताए । उनका अनुसार अपहरणमा परेका दुई प्रहरी अधिकारीको अवस्था अज्ञात रहेको छ र खोजी कार्य जारी छ ।

यी आक्रमण अफगान र पाकिस्तानी सुरक्षाबलबीच सीमाक्षेत्रमा केही दिनअघि भएको गोलीबारीपछि भएका हुन् । दुवै पक्षले सीमामा शत्रुता भड्काएको आरोप एकअर्कामाथि लगाउँदै आएका छन् । घटनापछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।

अधिकांश हमलाको जिम्मा तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले लिएको छ । सन् २०२१ मा काबुलमा अफगान तालिबान पुनः सत्तामा फर्किएपछि टिटिपीले पाकिस्तानभित्र आक्रमण तीव्र बनाएको इस्लामावादको दाबी छ । यसै क्रममा सेनाले प्रान्तका विभिन्न स्थानमा सञ्चालन गरेको चारवटा छुट्टै प्रतिआक्रमणमा २६ जना आतङ्कवादी मारिएको जनाएको छ ।

पाकिस्तानले अफगानिस्तानस्थित तालिबान प्रशासनमाथि आफ्नो भूमिमा सक्रिय चरमपन्थी समूहलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आएको छ । इस्लामावादका अनुसार ती समूहले अफगान भूभागलाई पाकिस्तानमाथि आक्रमणको योजना बनाउन र सञ्चालन गर्न प्रयोग गरिरहेका छन् । काबुलले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्ला महिनाहरूमा खैबर पख्तुनख्वा र छिमेकी बलुचिस्तान प्रान्तमा हिंसा उल्लेख्य रूपमा बढेको छ । सडक किनारमा बम विस्फोट, सुरक्षाकर्मीमाथि लक्षित गोलीबारी र छापा आक्रमणका घटना दोहोरिँदै आएका छन् । आत्मघाती विस्फोटहरूको शृङ्खलापछि पाकिस्तानी सेनाले सीमापार रहेका भनिएका आतङ्कवादी अड्डामाथि कारबाही तीव्र पारेको छ, जसले दुई देशबीचको कूटनीतिक सम्बन्ध झनै तनावपूर्ण बनाएको छ । रासस