ओली–दाहालसामू नयाँ शीराबाट कम्युनिष्ट एकता थाल्न दबाब, प्रचण्ड बन्लान् त विपक्षी दलको नेता ?


काठमाडौं, २८ फागुन । २१ फागुनमा भएको निर्वाचनमार्फत नेपालका वामपन्थी शक्तिहरु झण्डै २० प्रतिशतमा खुम्चिएका छन् । मूलधारका कम्युनिष्ट पार्टीहरु एमाले र नेकपाले यो निर्वाचनमा नराम्रो हार व्यहोरेका छन् । दुवै दल मिल्दा पनि प्रत्यक्ष र समानुपातिकतर्फ गरी जम्मा ४० सिट हाराहारीमा जितेका छन् । यो संख्या भनेको संसदीय इतिहासमै एकदमै कमजोर हो ।

प्रत्यक्षमा त दुवै दलको एक सिटको मात्रै अन्तर छ । एमालेले ९ सिटमा जित निकाल्दा नेकपाले ८ सिट जितेको छ । समानुपातिकतर्फ एमालेले १४ लाख ५५ हजार ८८५ मत ल्याएको छ । नेकपाले समानुपातिकतर्फ ८ लाख ११ हजार ५७७ मत ल्याएको छ ।

तीन वर्षअघि उदाएको रास्वपाले यो निर्वाचनमा दुई तिहाई मतको सफलता हाँसिल गरेको छ । उसलाई दुई तिहाईको लागि जम्मा २ सिट अपुग छ । कांग्रेस पनि यो निर्वाचनमा नराम्रोसँग पराजय भएको छ । तर, कांग्रेसको धारको नेतृत्व रास्वपाले गर्ने भएको हुँदा लोकतान्त्रिक धार झनै बलियो भएको चर्चा छ । यस्तोमा नेपालका वामपन्थीहरुको भने अब अस्तित्वको लडाईं सुरु भएको चर्चा छ । यो निर्वाचनमा पूर्व प्रधानमन्त्रीहरुबाट नेकपाका संयोजक पुष्पकमल दाहालमात्रै जितेर आएका छन् । सदनमा अब पूर्व प्रधानमन्त्रीहरुबाट दाहालबाहेक कोही पनि हुने छैनन् ।

तर, दाहालको लागि पनि संसद्मा उपस्थिति आँफैमा हारको विषय बनेको छ । आफ्नो पार्टीमात्रै नभएर सिंगो कम्युनिष्ट पार्टीहरुको उपस्थिति नै न्यून भएको सदनमा दाहाल साक्षी बसेसरह हुने विश्लेषण सुरु भएको छ । दाहालले रास्वपालाई राम्रो काम गर्नको लागि शुभकामना दिईसकेका छन् । उता, आजमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई सम्मानका साथ स्विकार गर्ने भनिसकेका छन् ।

तर, दुवै दलका दोस्रो तहका नेताहरुले भने तत्काल नयाँ शिराबाट पार्टी एकताको लागि पहल थालेको चर्चा छ । अहिले एमाले र नेकपा मिल्दा कांग्रेसभन्दा बढि संख्यामा उपस्थिति हुने भन्दै प्रमुख प्रतिपक्षमा बसेर भूमिका निर्वाह गर्न सकिने कुरा उठाईएको छ । दाहाललाई दलको नेता बनाएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा भूमिका खेल्न आग्रह गरिएको चर्चा छ ।

यद्धपी ओली र दाहालबीच चुनावी परिणामपछि कुनै भेटवार्ता भने भएको छैन् । प्रदेश र स्थानीय सरकारमा अहिलेपनि एमाले र नेकपाको राम्रो उपस्थिति रहेकोले नयाँ शिराबाट एकता गरेर जाँदा र पछिल्लो परिस्थितिका निर्मम समिक्षा गरिँदा कम्युनिष्ट आन्दोलन नयाँ ढंगले अघि बढाउन सकिने ती नेताहरुको विश्वास छ । file photo