तेहरान, २२ चैत । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई पुरुषलाई फाँसी दिएको छ । इरानी न्यायालयको ‘मिजान अनलाइन वेबसाइट’का अनुसार मोहमद–अमीन बिग्लारी र शाहिन वाहेदपरस्त जनवरी सन् २०२६ मा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्ड दिइएको हो । सर्वोच्च अदालतले आफ्नो फैसला पुनः पुष्टि गरेपछि फाँसी कार्यान्वयन गरिएको जनाइएको छ ।
विरोध प्रदर्शनहरू सुरुमा आर्थिक असन्तुष्टिका कारण थियो तर चाँडै राष्ट्रव्यापी विरोधमा परिणत भए । जनवरी ८ र ९ मा विरोधको चरमउत्कर्ष पुगेको थियो । इरानी अधिकारीहरूले ती विरोधहरू शान्तिपूर्ण सुरु भए तापनि पछि ‘विदेशले उक्साएको हिंसात्मक विद्रोह’ मा परिणत भएको दाबी गरेका छन्, जसमा हत्याकाण्ड र तोडफोड समावेश थियो ।
इरानले विगत केही दिनमा प्रदर्शन वा विपक्षी समूहसँग सम्बन्धित धेरै व्यक्तिहरूलाई फाँसी दिएको छ, जसमा निषेधित पीपुल्स मुजाहिदिन (एमईके) का सदस्यहरू पनि छन् । यस घटनाक्रमले इरान–इजरायल–संयुक्त राज्य अमेरिका युद्धको पृष्ठभूमिमा आएको थप तनावलाई देखाउँछ । उक्त युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो र यसमा इरानी सर्वोच्च नेता अली खामेनी मारिएका थिए ।
इरानी अधिकारीहरूले प्रदर्शनमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा सुरक्षाकर्मी र सर्वसाधारण दुबै छन्, र यसलाई ‘आतङ्कवादी कार्य’ भनी ठहराएको छ । तर अमेरिकी आधारित मानवअधिकार संस्था ‘एचआरएएनए’ ले सात हजार भन्दा बढी मृत्युकाण्ड रेकर्ड गरेको छ र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ । रासस




प्रतिक्रिया