१२ वर्षसम्म पुल नबनाउने मृत सञ्जीवनीको ठेक्का रद्द


तनहुँ । तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको पोखरा–नारायणगढ सडकअन्तर्गत बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्ततः तोडिएको छ। 

निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न नगरेको र पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीसँगको सम्झौता अन्त्य गरेको हो।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ लाई जोड्ने यो पुल बनाउन सडक डिभिजनले ‘मृत सञ्जीवनी निर्माण सेवा’ सँग सम्झौता गरेको थियो। कार्यालयले गत चैत १७ गते संशोधित डिजाइन स्वीकृत भएको जानकारी दिँदै १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएपछि प्रचलित कानुनबमोजिम ठेक्का तोडेर कारबाही प्रक्रिया अघि बढाइएको हो। सडक डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार सम्झौतामा उल्लेखित निर्देशनको ‘गम्भीर उल्लङ्घन’ भएकाले यो कदम चालिएको हो।

पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीयवासी लामो समयदेखि आन्दोलित थिए। वि.सं. २०७० असारमा १० करोड २१ लाख ८६ हजार रुपैयाँको लागतमा सम्झौता भएको १०५ मिटर लामो पुलको भौतिक प्रगति हालसम्म केवल ३६ प्रतिशत मात्र रहेको छ। पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले निर्माण कम्पनीले जनताको भावनासँग खेलबाड गरेको बताए

यो पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन पुग्न हालको मुग्लिन–डुम्रे सडकभन्दा करिब २५ किलोमिटर दूरी छोटो पर्नेछ। पुल नबनेका कारण यस क्षेत्रमा चल्ने साना बस तथा जिपहरु घुमाउनेघाटसम्म मात्र सीमित छन्। यात्रुहरू झोलुङ्गे पुल तरेर मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्न बाध्य छन् भने दुई पाङ्ग्रे सवारीसाधन पुलबाट डोर्‍याएर लैजानुपर्ने अवस्था छ।

सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई तत्काल निर्माणस्थल खाली गर्न र बाँकी रहेको हिसाब १५ दिनभित्र मिलान गर्न निर्देशन दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढाउने बाटो खुलेको छ। डिभिजन प्रमुख श्रेष्ठका अनुसार लापरबाही गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइएको छ।रासस