काठमाडौँ, ४ जेठ । बागलुङको एउटा सामान्य गाउँका जन्मिएका युवक अहिले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीका रूपमा चिनिएका छन् ।
केही वर्षअघि अस्पतालको शय्यामा जीवन र मृत्युबीच सङ्घर्ष गरिरहेका उनीभित्रको दृढ विश्वास र आत्मबलकै कारण विदेशका थुप्रै प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै पदक जित्न सफल भएका हुन् । जैमिनी नगरपालिका–१, कुश्मीसेराका हरिनारायण शर्माको जीवन यात्रा त्यही सङ्घर्ष, साहस, कृतज्ञता, आशा र पुनर्जन्मको प्रेरणादायी कथा हो ।
कहिलेकाहीँ जीवनमा यस्ता कठिन क्षण आउँछन्, जहाँ सबै सपना टुटेको जस्तो लाग्छ, भविष्य अन्धकार देखिन्छ र बाँच्ने आशासमेत हराउन थाल्छ । तर त्यही अन्धकारबीच आशाको एउटा सानो किरणले जीवनलाई फेरि उज्यालो बनाउन सक्छ ।
पाँच दिदीबहिनीहरूका बीचमा बाबा–आमाका एक्लो छोरा हुन् उनी सानैदेखि सामाजिक कार्यमा रुचि राख्थेँ। गाउँ, विद्यालय तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने उनी सबै उमेर समूहका मानिससँग सजिलै घुलमिल हुन सक्थेँ । पढाइमा पनि राम्रो थिए।
परिवारको भविष्य र छोराहरूको शिक्षाका लागि उहाँ काठमाडौँमा निजी क्षेत्रमा ग्राफिक डिजाइनिङको काम गर्दै थिए। विस्तारै शरीर कमजोर हुँदै गयो, हातखुट्टा सुन्निने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, अत्यधिक कमजोरी महसुस हुनेजस्ता समस्याहरू देखिन थाले ।
अस्पतालमा जाँच गर्दा चिकित्सकहरूले दुवै मिर्गौलामा गम्भीर समस्या भएकाले छिटोभन्दा छिटो डायलासिस वा मिर्गौला प्रत्यारोपणको तयारी गर्न सुझाव दिए । उनी सम्झन्छन्, “त्यो क्षणमा जीवन नै समाप्त भएकोजस्तो लाग्यो । केही सोच्न, बोल्न वा बुझ्न सकिन । विस्तारै ओपिडी बाहिर निस्किएँ ।”
त्यतिबेला अस्पतालमा र ओपिडीमा आफ्नो पालो कुरिरहेका व्यक्तिका आफन्तहरुबीच धेरैजसो नकारात्मक कुरा मात्र सुनिन्थ्यो–यस्तो रोग लागेपछि उपचार गर्न गाह्रो हुन्छ, धेरै खर्च लाग्छ, प्रत्यारोपण सफल हुँदैन, जीवनभन्दा मृत्यु नै सजिलो हुन्छ भन्ने । यस्ता कुराले आफूजस्ता बिरामीलाई मानसिक रूपमा झन कमजोर बनाउँथ्यो । कहिलेकाहीँ लाग्थ्यो बरु सजिलै मर्न पाए परिवारलाई कम दुःख हुन्थ्यो भन्ने सोचसमेत आएको उनी बताउँछन् ।
चिकित्सकसँग खुला रूपमा प्रश्न गर्न वा उपचारपछि जीवनको सम्भावनाबारे बुझ्न पनि आँट आउँदैनथ्यो । वरिष्ठ चिकित्सक डा ऋषिकुमार काफ्लेले तिमी प्रत्यारोपणपछि पनि राम्रो गर्न सक्छौँ । भारतमा एउटा राम्रो अस्पताल छ, कम खर्चमा उपचारका लागि सिफारिस गरिदिन्छु भनेर दिएको सल्लाहले नै उनलाई बाँच्ने आशा पलायो । त्यस समय नेपालमा डायलासिसबाहेक प्रत्यारोपण सुविधा उपलब्ध थिएन ।
उनी नयाँ जीवनको आशामा भारतको कोइम्बातुरस्थित कोभाइ मेडिकल अस्पतालमा पुगेका उनको २०६३ चैत २३ गते मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भयो । त्यतिबेला उनी २८ वर्षको थिए । उनको उपचारमा धेरै व्यक्तिहरुबाट सहयोग जुटेको थियो । धेरैको सानो सानो सहयोग, स्कूलका साना नानीबाबुहरुले आफ्नो खाजा खर्चबाट जोगाएरसमेत सहयोग गरेकाले नै मेरो उपचार सम्भव भएको थियो । जीवनको अन्तिम विन्दुमा पुगेको मानिसलाई एउटा सकारात्मक भावनाले र सानो सहयोगले पनि फेरि बाँच्ने शक्ति दिन सक्छ, आशा पलाउँछ ।
परिवारको सहयोग र चिकित्सकको प्रयासपछि उनको मिर्गौला प्रत्यारोपण सफल भयो । प्रत्यारोपणपछि चिकित्सकले उनलाई नियमित व्यायाम गर्न सुझाव दिए । प्रत्यारोपणपछि समाजसेवा र जनचेतनाको अभियान मिर्गौला प्रत्यारोपणपछि शर्माले आफ्नो जीवनलाई केबल व्यक्तिगत सङ्घर्षमा सीमित राखेनन् । उन ले अङ्गदान र प्रत्यारोपणपछि पनि स्वस्थ, सफल र सक्रिय जीवन जिउन सकिन्छ भन्ने सन्देश फैलाउने अभियान सुरु गरे । उन ले सन् २०१० मा केही साथीहरूसँग मिलेर नेपालमै पहिलोपटक नेपाल ट्रान्सप्लान्ट गेम्स तथा मिर्गौला स्वास्थ्य तथा अङ्गदान सचेतनाका लागि ‘किड्नी वाक’ कार्यक्रम सुरु गर्नुभयो । यी कार्यक्रम अहिले पनि विभिन्न संस्थाहरूले निरन्तर सञ्चालन गरिरहेका छन् ।
सन् २०१० देखि देशका विभिन्न स्थान तथा विद्यालयहरूमा अङ्गदान र मिर्गौला स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सन् २०११ देखि हालसम्म ‘वल्र्ड किड्नी डे च्याम्पियन’का रूपमा सक्रिय छन् । सन् २०२२ मा स्वीट्जरल्याण्डको लोजानस्थित ओलम्पिक भवनमा ‘वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेशन’द्वारा आयोजित ‘ग्लोबल अर्गान डोनेसन एम्बासडर क्याम्पेन’मा नेपालको प्रतिनिधित्व गरे ।
सन् २०२३ मा अष्ट्रेलियाको पर्थमा सम्पन्न वल्र्ड ट्रान्सप्लान्ट गेम्स प्रतियोगितामा नेपालका पाँच जना प्रत्यारोपण खेलाडीलाई सहभागिता गराउन टोली प्रबन्धकको भूमिका निर्वाह गरे । आरोग्य फाउन्डेसन तथा अन्य संघसंस्थाको सहयोगमा सहभागी नेपाली खेलाडीहरूले सात पदक जित्न सफल भएका थिए । सन् २०२३ मा थाइल्याण्डको बैंककमा आयोजित पहिलो ‘पेटाङ्क ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पियनसिप’मा सहभागिता जनाए ।
तीनवर्ष अघि नेपाल प्रत्यारोपण खेलकुद सङ्घ स्थापना गरी संस्थापक तथा महासचिवको रूपमा कार्यरत उनी ‘वल्र्ड ट्रान्सप्लान्ट गेम्स फेडरेशन’का लागि नेपालको तर्फबाट टोली प्रबन्धकको रूपमा कार्यरत छन् । थाइल्याण्डको बैंककमा २९ अप्रिलदेखि ३ मे २०२६ सम्म सम्पन्न दोस्रो पेटाङ्क ट्रान्सप्लान्ट एशियन ओपन च्याम्पिएक स्वर्ण पदक र एक रजत पदक जितेर अन्तरराष्ट्रियस्तरमा देशलाई गौरवान्वित बनाएका छन् । अष्ट्रेलिया, भुटान, चीन, हङकङ, हङ्गेरी, भारत, मलेसिया, नेपाल तथा थाइल्याण्डका ८५ जना ट्रान्सप्लान्ट खेलाडी सहभागी उक्त प्रतियोगितामा उहाँले पुरुष सिंगल्स (नेसन्स गु्रप) मा स्वर्ण पदक र मिक्स डबल (नेसन्स गु्रप) मा रजत पदक जित्न सफल भए ।
उनको यो उपलब्धि केवल खेलकुदको विजय मात्र नभई समाजका लागि शक्तिशाली सचेतनामूलक सन्देश पनि बनेको छ । यसले अङ्गदान तथा अङ्ग प्रत्यारोपण पछि पनि मानिसलाई नयाँ जीवन, नयाँ आशा र समाज तथा राष्ट्रका लागि सक्रिय योगदान गर्ने अवसर दिन सक्छ भन्ने पुष्टि गरेको छ । उनको यो यात्रा अङ्ग प्रत्यारोपणको प्रतीक्षामा रहेका हजारौँ बिरामी तथा प्रत्यारोपणपछि पुनः जीवनतर्फ फर्किरहेका व्यक्तिहरूका लागि प्रेरणा बनेको बागलुङका सञ्चारकर्मी हरिनारायण गौतम बताउँछन् ।
सन् २००८ मा नेपालमा सुरु भएको मानव अङ्ग प्रत्यारोपण सेवाले उल्लेखनीय प्रगति गरिरहेको छ । अहिले काठमाडौँसहित देशका विभिन्न सहरहरूमा मिर्गौला र कलेजो प्रत्यारोपण सेवा विस्तार भइरहेको छ । नेपालमा प्रत्यारोपण सफलताको दर विकसित देशहरूसँग तुलना गर्न सकिने अवस्थामा पुगेको छ भने खर्च पनि तुलनात्मक रूपमा कम मानिन्छ ।
नेपाल सरकारले सरकारी अस्पतालमार्फत सहुलियत तथा निःशुल्क प्रत्यारोपण सेवा उपलब्ध गराउन प्रयास गरिरहेकोमा उनी खुसी व्यक्त गर्छन् । तर जीवनभर नियमित खानुपर्ने महँगा औषधि, उपचार र परीक्षण खर्चले गरिब तथा निम्न आय भएका बिरामीहरूलाई अझै कठिनाइ भइरहेको उनको भनाइ छ । उनका अनुसार डायलाइसिस सेवा जिल्ला अस्पतालसम्म विस्तार हुँदै गए पनि दक्ष जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको छ ।
नेपालमा अझै धेरै बिरामी अङ्गदाताको अभावमा प्रतीक्षामा बस्न बाध्य छन् । अङ्गदानसम्बन्धी जनचेतना अझ व्यापक बनाउन आवश्यक रहेको उनी बताउँछन् । उनी भन्छन्, “एकजना मस्तिष्क मृत्यु भएका व्यक्तिले आठ जनासम्मलाई नयाँ जीवन दिन सक्छन् । अङ्गदान संसारकै सबैभन्दा ठूलो मानवसेवा हो ।” बाहिरका व्यक्तिले पनि स्वेच्छाले, कुनै आर्थिक प्रलोभनबिना कसैको जीवन बचाउन अङ्गदान गर्न चाहेको अवस्थामा कानुनी व्यवस्था सहज हुनुपर्ने उनको सुझाव छ ।
स्वास्थ्य बिमा प्रणालीलाई सरल र झन्झटरहित बनाउने, नेपालका जुनसुकै अस्पतालबाट स्वास्थ्य बीमा सुविधा उपलब्ध हुने व्यवस्था गर्ने, डायलासिस तथा प्रत्यारोपण बिरामीलाई सरल, सहज र निःशुल्क औषधि तथा उपचार उपलब्ध गराउन सके यस्ता जटिल प्रकृतिका बिरामीको उपचारमा सहज हुने उनको धारणा छ ।
प्रत्यारोपणपछि स्वस्थ जीवनका लागि सुझाव उनले प्रत्यारोपणपछि स्वस्थ, सक्रिय र सफल जीवनका लागि नियमित रूपमा समयमै औषधि सेवन गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्ने, व्यायाम, खेलकुद, योग, ध्यान, प्राणायाम र प्रार्थनालाई दैनिकीमा समावेश गर्ने, चिकित्सकको सल्लाह पालना गर्ने, अन्य सङ्क्रमणबाट जोगिने, स्वस्थ पानी र ताजा खानाको सेवन गर्ने, सामाजिक, पारिवारिक र आध्यात्मिक गतिविधिमा धेरै भन्दा धेरै सक्रिय रहने, मानसिक, शारीरिक र आध्यात्मिक रूपमा स्वस्थ रहन कोशिस गर्ने र सकारात्मक सोच राख्नुपर्ने उनको सुझाव छ । उनका अनुसार परिवारको माया, सहयोग, सद्भाव, आशीर्वाद र प्रार्थनाले बिरामीलाई भित्रबाट बलियो बनाउँछ ।
अहिले पनि उनी प्रत्यारोपणपछि पनि स्वस्थ, सक्रिय र सकारात्मक जीवन बाँच्न सकिन्छ भन्ने सन्देश फैलाउने अभियानमा सक्रिय छन् । “मिर्गौला प्रत्यारोपणपछि जीवन सकिँदैन भन्ने सन्देश दिन चाहन्छु”, उनी भन्छन् । अङ्गदान – जीवनदान भएकाले प्रत्यारोपणपछि पनि जीवन सुन्दर, सक्रिय र अर्थपूर्ण हुन्छ भन्ने उनको अभियान जारी नैछ । शर्माको जीवन कथा केबल खेलकुदको सफलता होइन, आशा, साहस र पुनर्जन्मको कथा हो । कठिन परिस्थितिमा पनि आत्मविश्वास र निरन्तर मेहनत भए असम्भवजस्तो लाग्ने लक्ष्य पनि हासिल गर्न सकिन्छ भन्ने प्रेरणा उनीबाट लिन सकिन्छ । -कृष्ण अधिकारी/रासस




प्रतिक्रिया