सियोल, १२ जेठ । उत्तर कोरियाले मङ्गलबार आफ्नो पश्चिमी तटबाट अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । यो पछिल्लो गतिविधिलाई उत्तर कोरियाको निरन्तर जारी हतियार परीक्षण शृङ्खलाको अर्को कदमका रूपमा हेरिएको छ ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको संक्षिप्त सूचनामा प्रक्षेपणको विस्तृत विवरण भने दिइएको छैन । प्रक्षेपणको प्रकार, दूरी वा क्षमताबारे तत्काल कुनै प्राविधिक जानकारी सार्वजनिक नगरिएको जनाइएको छ ।
यसअघि अप्रिल १९ मा उत्तर कोरियाले गरेको मिसाइल परीक्षणपछि यो नयाँ प्रक्षेपण भएको हो । त्यस बेला उत्तर कोरियाले धेरै छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको थियो, जसलाई राज्य सञ्चारमाध्यमले क्लस्टर बम वारहेड प्रदर्शनको रूपमा वर्णन गरेको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उन सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि देशको आणविक तथा क्षेप्यास्त्र क्षमताको विस्तारमा केन्द्रित रहेका छन् । राष्ट्रपति ट्रम्पले भने किमसँग पुनः वार्ता गर्न इच्छुकता व्यक्त गरेको भए पनि प्योङयाङले अमेरिकी प्रस्तावलाई बेवास्ता गर्दै आएको छ र वार्ताका लागि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको सर्त त्याग्न आग्रह गर्दै आएको छ ।
यसबीच किमले दक्षिण कोरियाप्रति अझ कडा नीति अपनाएका छन् । उनले दक्षिण कोरियालाई आफ्नो देशको ‘स्थायी र सबैभन्दा शत्रुतापूर्ण शत्रु’ का रूपमा चित्रण गरेका छन् । यसले कूटनीतिक सम्बन्ध थप जटिल बनेको सङ्केत गरेको छ ।
तनाव र संवाद ठप्प रहेको पृष्ठभूमिमा उत्तर कोरियाको आणविक महत्त्वाकांक्षालाई लिएर क्षेत्रीय अस्थिरता बढ्दै गएको विश्लेषण गरिएको छ । यता दक्षिण कोरियामा पनि रक्षा नीति र सैन्य आधुनिकीकरणबारे छलफल तीव्र भएको देखिन्छ ।
उत्तर कोरियाको पछिल्लो प्रक्षेपण दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले मन्त्रिपरिषद् बैठकमा देशको रक्षा क्षमतालाई मजबुत बनाउन आह्वान गरेको केही घण्टापछि भएको हो । उनले कृत्रिम बौद्धिकता (एआई), ड्रोन प्रविधि तथा आणविक–सञ्चालित पनडुब्बीको सम्भावित विकासमा जोड दिएका छन्, जुन विषय संयुक्त राज्य अमेरिकासँगको कूटनीतिक छलफलमा पनि समावेश भएको बताइएको छ ।
राष्ट्रपति लीले उत्तर कोरियाको नाम नलिई सुरक्षा चुनौतीबारे सामान्य रूपमा टिप्पणी गर्दै देशले आफ्नो सुरक्षा आफैँ सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउका छन् । उनका अनुसार यस्तो आत्मनिर्भर रक्षा दृष्टिकोणले दक्षिण कोरिया–अमेरिका गठबन्धनलाई पनि थप सुदृढ बनाउनेछ । रासस



प्रतिक्रिया