बालेनले संसद्मै क्षमायाचना गर्नुपर्ने मिश्रको भनाइ


काठमाडौँ । लामो समयदेखि राजतन्त्रको वकालत गर्दै आएका पत्रकार रवीन्द्र मिश्रले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै मिश्रले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय स्वार्थविपरीत रहेको र यसले नेपाल–भारत सीमा विवादमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन् ।

सीमा वारपारको जग्गा भोगाधिकार (क्रस बोर्डर अकुपेसन) लाई भूमि अतिक्रमण भन्न नमिल्ने तर्क गर्दै मिश्रले यो केवल स्थानीय सीमा विवाद मात्र भएको र यसलाई भारत आफैँले पनि कहिल्यै भूमि अतिक्रमण नभनेको स्पष्ट पारेका छन् ।

परराष्ट्र मन्त्रालयले यस विषयमा दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गर्दै मिश्रले प्रश्न गरेका छन्, ‘के नेपालले भारतको भूमि पनि अतिक्रमण गरेको छ ? यदि नेपालले भारतको भूमि अतिक्रमण गरेको हो भने कुन–कुन ठाउँमा गरेको हो, प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ ।’

मिश्रले प्रधानमन्त्री शाहबाट गल्तीवश यस्तो अभिव्यक्ति आउन पुगेको भए तत्काल संसद्मै उभिएर क्षमायाचनासहित गल्ती सच्याउन माग गरेका छन् । अन्यथा, देशको सीमाजस्तो संवेदनशील विषयमा हलुका टिप्पणी गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान कमजोर हुने उनको ठहर छ ।