इजरायलको गुप्तचर संस्था मोसादमा नयाँ प्रमुख नियुक्त


तेल अभिभ । इजरायलको गुप्तचर संस्था मोसादको नयाँ प्रमुखका रूपमा रोमन गोफमानले जिम्मेवारी सम्हालेका छन् । यससँगै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले उनलाई सिफारिस गरेपछि लामो समयदेखि चलिरहेको कानुनी विवादको अन्त्य भएको छ ।

मङ्गलवार उनले जेरुसेलममा मोसादको प्रमुखको शपथ लिएका थिए । इजरायलको उच्च अदालतले गोफमानको नियुक्ति रद्द गर्न माग गरिएको याचिकालाई अस्वीकार गरेको भोलिपल्ट उनले शपथ लिएका हुन् ।

रोमन गोफमानको नियुक्तिविरुद्ध वरिष्ठ सरकारी अधिकारीका लागि आवश्यक नैतिक मापदण्ड उल्लङ्घन गरेको आरोपसहित विभिन्न याचिकाहरू दायर गरिएको थियो । तर अदालतले ती सबै दाबी अस्वीकार गरेपछि उनको नियुक्ति आधिकारिक रूपमा अघि बढेको हो ।

उनी मोसादका १४औँ निर्देशक बनेका छन् । यसअघि डेभिड बार्निया मोसादका प्रमुख थिए । उनले करिब पाँच वर्षसम्म यो पद सम्हालेका थिए । सन् २०२६ को जुनमा उनको कार्यकाल पूरा भयो ।

नियुक्तिभन्दा अघि गोफमानले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूका सैन्य सचिवका रूपमा काम गरेका थिए । रोमन गोफमानलाई मोसादको नयाँ निर्देशक नियुक्त गर्न पाउँदा आफू गर्वित भएको इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै बताएका थिए । एजेन्सी