दार्चुलामा रक्तदाता समूह पहिचान अभियान


दार्चुला, २३ जेठ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा महाकाली नगरपालिकाको सहयोगमा सदरमुकाम खलङ्गामा रक्तदान उत्प्रेरणा तथा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिएको छ । ‘म पनि रक्तदाता’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत आज खलङ्गास्थित पुलघाट र बसपार्क क्षेत्रमा रक्त समूह पहिचान तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

‘ल्याब असिस्टेन्ट’ करनसिंह धामीका अनुसार पुलघाटमा ८३ र बसपार्क क्षेत्रमा ५७ जनाको रक्त समूह पहिचान गरिएको छ । गत वैशाख १३ गतेदेखि दार्चुलामा रक्त सञ्चार केन्द्र स्थापना भएपछि त्यसलाई प्रभावकारी रूपमा सञ्चालनका लागि अभियान सुरु गरिएको उनले बताए ।

रक्त सञ्चार उपसमितिका सदस्य कृष्णसिंह धामीले आमनागरिकमा रक्तदानप्रति सकारात्मक भावना जागृत गराउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । “अझै पनि धेरै नागरिकमा रक्तदान गर्नुपर्छ भन्ने चेतना विकास हुन सकेको छैन । गत बैशाखमा स्थापना गरिएको रक्त सञ्चार केन्द्रमा नियमित रगत आपूर्ति सुनिश्चित गर्न र आवश्यक पर्दा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो”, , उनले भने ।

अभियानअन्तर्गत दार्चुला बहुमुखी क्याम्पस, महेन्द्र मावि खलङ्गा र मालिकार्जुन मावि धापमा रक्त समूह पहिचान कार्यक्रम सञ्चालन गरिने रक्त सञ्चार उपसमितिका सदस्य भूपेन्द्र विष्टले जानकारी दिए । रक्त समूह पहिचान गरिएका व्यक्तिलाई रक्तदान अभियान समूहमा आबद्ध गराइनेछ ।

हाल जिल्ला अस्पतालमा रगत आवश्यक पर्दा सोही समूहमार्फत रक्तदाताको खोजी गर्ने गरिएको छ । उक्त समूहमा हालसम्म तीन सय ३३ जना आबद्ध भइसकेका छन् । नेपाल रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महराले महाकाली नगरपालिकाको समन्वयमा चालु आर्थिक वर्षमा रक्त सञ्चार केन्द्र व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताए । “रक्तदानप्रति सकारात्मक सोच विकास गर्न सके अभियान सफल हुन्छ । त्यसैले पहिलो वर्ष नागरिकमा सचेतना फैलाउन आवश्यक ठानेर अभियान सञ्चालन गरिएको हो”, उनले भने ।

जिल्ला अस्पतालका डा रवीन्द्र भट्टराईका अनुसार पहाडी जिल्ला अस्पतालमा हुने रगतको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने बताए । दार्चुलामा रगत अभाव भएमा सबैभन्दा नजिक रक्त सञ्चार केन्द्र बैतडी र डडेल्धुरामा मात्रै रहेकाले जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गरी व्यवस्थापन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

रक्त सञ्चार केन्द्रमा जनशक्ति अभाव

यहाँ रक्त सञ्चार केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्तिको अभाव छ । केन्द्र स्थापना भएको लामो समय हुँदा पनि आवश्यक दरबन्दीअनुसार जनशक्ति पदपूर्ति हुन सकेको छैन ।

हाल जिल्ला अस्पताल र महाकाली नगरपालिकाबाट खटाइएका कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको छ । रेडक्रस सोसाइटीका सभापति गोपालसिंह महराले रक्त सञ्चार केन्द्रका लागि छुट्टै जनशक्ति आवश्यक भए पनि स्रोत अभावका कारण व्यवस्थापन गर्न नसकिएको बताए ।

“हाल असार मसान्तसम्मका लागि एक जना जनशक्ति मात्रै व्यवस्थापन गरिएको छ । २४ सै घण्टा सेवा दिनुपर्ने केन्द्रमा एक जना मात्रै कर्मचारी हुँदा समस्या भएको छ । त्यसैले जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय रेडक्रस र स्थानीय तहबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ”, उनले भने ।

अस्थायी भवनबाट सेवा सञ्चालन

नेपाल रेडक्रस सोसाइटीको आफ्नै भवन नहुँदा हाल जिल्ला अस्पतालबाट अस्थायी रुपमा रक्त सञ्चार केन्द्र सञ्चालन गरिएको छ । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार र जिल्ला अस्पतालको सहयोगमा अस्थायी संरचनामा रक्त सञ्चार केन्द्रलाई नियमित सञ्चालनमा ल्याइएको हो ।

केन्द्रको आफ्ननै भवनका लागि स्थानीय तह र प्रदेश सरकारलाई माग गरिए पनि हालसम्म सुनुवाइ भएको छैन । रेडक्रस सोसाइटीका सभापति महराले भने,“भवन निर्माणका लागि सहयोग आह्वान गरेका छौँ, तर हालसम्म सहयोग प्राप्त भएको छैन । चालु आवमा भवन व्यवस्थापनका लागि महाकाली नगरपालिकाले पाँच लाख सहयोग गर्नुबाहेक अरु स्थानीयले तहले सहयोग गरेका छैनन् ।”

रक्त सञ्चार केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारले उपकरणमा सहयोग गरेको थियो । नयाँ आर्थिक वर्षमा थप उपकरण र जनशक्ति व्यवस्थापनमा सहयोगको लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरिएको सभापति महराले जानकारी दिए । रासस

Skip This

Omoda E5 Pro