तिलागुफालाई पूर्णखोप सुनिश्चित घोषणा


मान्म (कालीकोट), २६ जेठ । जिल्लाको तिलागुफा नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफालाई जिल्लाको पाँचौँ पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन १३ प्रकारका खोप लगाइसक्नुपर्ने प्रावधान रहेको र कुनै कारणले खोप लगाउन छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर सबै खोपको मात्र पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा जिल्ला खोप समन्वय समिति सदस्यसचिव डा रत्नवीर सुनारले बताए ।

“नगरपालिकाका सबै बालबालिकालाई खोप पुर्याउन स्थानीय तहका खोप केन्द्रले काम गरेका छन्”, उनले भने, “पूर्णखोपका लागि स्वास्थ्यकर्मीको सक्रियता, जनप्रतिनिधिको अगुवाइ महत्त्वपूर्ण छ ।”

तिलागुफाका ११ वटै वडामा खोप अभियान सञ्चालन गरेर सबै बालबालिकाले खोप पाएको एकिन भएपछि पूर्णखोप सुनिश्चित घोषणा गरिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले जानकारी दिए । नगरपालिकाका विकट बस्तीमा पनि स्वास्थ्यकर्मी खटाएर सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएका छौं,’ उनले भने, “जिल्ला बाहिर गएकालाई पनि घरपरिवारमार्फत सूचना गरेर खोप पाएको सुनिश्चितता गरेका हौँ ।”

गत माघ, फागुन र चैतमा जिल्लाभर खोज र खोप अभियान सुरुआत गरेको स्वास्थ्य सेवा कार्यालयले जिल्ला खोप समन्वय समितिको अनुगमनका आधारमा सबै बालबालिकाले खोप पाएको एकिन गरेपछि यहाँका स्थानीय तहलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा जिल्ला खोप फोकल पर्सन कटकबहादुर महतले जानकारी दिए । रासस

Skip This

Omoda E5 Pro