हालसम्मकै सर्वाधिक राजश्व संकलन गर्दै बसन्तकालिन हिमाल आरोहण सम्पन्न


मीनराज भण्डारी

काठमाडौं, जेठ २७ । विगत भन्दा केही आलोचना, चुस्त व्यवस्थापनको कमी र हालसम्मकै सर्वाधिक राजश्व संकलन गर्दै यसवर्षको बसन्तकालिन हिमाल आरोहण सम्पन्न भएको छ । यस सिजनमा आरोहणका लागि सबै भन्दा आकर्षण हुने सगरमाथासहित विभिन्न ३१ हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।

यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका एक सय ५९, अमेरिकाका एक सय ५२, भारतका एक सय एक, जर्मनीका ७५, बेलायतका ७४, रसियाका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२, फ्रान्सका २७ जना रहेका छन् ।

पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले यस वर्ष ३१ वटा हिमाल चढ्नका लागि एक हजार १९५ आरोहीले अनुमति लिएकामा सगरमाथा आरोहण अनुमति लिने चार सय ९५ रहेको जानकारी दिए । सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका तीन सय ९० पुरुष र एक सय पाँच महिला रहेका थिए । अनुमति लिएका आरोहीबाहेक आरोहीका सहयोगी तथा ‘गाइड’ गरी करिब एक हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको उनले बताए ।

यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १०९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् । यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् ।

यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । सोलुखुम्बुका शेर्पा गत जेठ ३ गते सगरमाथा चुचुरोमा पुगेर आफ्नो रेकर्ड तोडेका छन् । यस्तै, महिला आरोहीमा सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी छन् । उनले पनि आफ्नै रेकर्ड तोडेकी छन्।

सरकारले सगरमाथा आरोहण अनुमतिबाट एक खर्ब आठ करोड १० लाख ७२५ राजस्व सङ्कलन गरेको छ । यस्तै, लोत्से हिमालबाट छ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट एक करोड ६५ लाख ४० हजार ५००, अन्नपूर्ण पहिलोबाट एक करोड २० लाख ४९ हजार १७५ राजस्व सङ्कलन भएको छ । यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणको अनुमति दिएबापत सरकारले रु एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ ।

यसवर्ष सगरमाथा आरोहणको लागि सर्वाधिक अनुमती पत्र जारी भएका कारण आरोहणका क्रममा आरोहीले लामो समय ट्राफिक जामको सामना गर्नु परेको छ भने सगरमाथाको चुचुरोमा प्रतिबन्धित इन्टननेट चलाउने, भान्सेको रुपमा अनुमती लिएको सदस्यलाई आरोहण दलमा सहभागी गराउने, आरोहणका क्रममा वेपत्ता भएका शेर्पाको खोजी कार्यमा ढिलाई लगायतका त्रुटी भएका छन् ।

Skip This

Omoda E5 Pro