परराष्ट्रमन्त्रीले भारत भ्रमणमा सीमा विवादको उच्चारणै गरेनन् : सचेतक ओली


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुस्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न भारत भ्रमणका क्रममा सीमा विवादको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले भारत भ्रमणपछि नेपाली पक्षले जारी गरेको प्रेस नोटबाट सीमा समस्याको विषय नै गायब पारिएको आरोप लगाइन् ।

दिल्ली भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताहरूमा परराष्ट्रमन्त्रीले कतै पनि सीमाको विषय नउठाएको ओलीको दाबी थियो ।

‘काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो । तर, दिल्लीको औपचारिक वार्तामा कतै सीमाको विषय उठेन,’ बैठकमा बोल्दै ओलीले भनिन्, ‘नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा सीमा विवादबारे एक शब्द छैन । भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा राख्नुभयो, तर काठमाडौं फर्केपछिको प्रेस नोटमा त्यो विषय समेटिएन ।’

सांसद ओलीले ‘सीमा समस्या’ र ‘सीमा व्यवस्थापन’ फरक विषय भएको उल्लेख गर्दै परराष्ट्रमन्त्रीले मुख्य विवादलाई छलेर प्राविधिक व्यवस्थापनको कुरा मात्रै अघि सारेको टिप्पणी गरिन् ।

‘संसद्‌मा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापनको नियमित काम, जंगेपिलर मर्मत र बैठकका विषय मात्रै उठाइएको छ,’ उनले भनिन्, ‘विगत चार वर्षमा कुनै न कुनै रूपमा नेपालको प्रेस नोटमा सीमाको विषय सधैँ रहन्थ्यो । पहिलोपटक अहिले प्रेस नोटबाट यो विषय हटाइएको छ ।’

परराष्ट्रमन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जान लागेको सन्दर्भ जोड्दै ओलीले यसपटक उत्तरी छिमेकीसँगको भ्रमणमा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरा सशक्तरूपमा उठाएर प्रेस नोटमै उल्लेख गर्न मन्त्री खनाललाई सुझावसमेत दिइन् ।

Skip This

Omoda E5 Pro