पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको आसन्न गण्डकी प्रदेश अधिवेशनको स+घारमा पार्टीको प्रदेश सभापति पदका लागि डा= हरि कार्कीको सम्भावित उम्मेदवारीलाई लिएर राजनीतिक वृत्तमा चर्चा तीव्र बनेको छ । वैकल्पिक राजनीति, सामाजिक अभियान र शिक्षा क्षेत्रको लामो अनुभवका कारण उनलाई यस दौडमा बलियो दाबेदारका रूपमा हेरिएको छ ।
हाल रास्वपाको केन्द्रीय सहकारी विभागका सदस्य रहेका डा. कार्कीको सम्भावित इन्ट्रीले रास्वपा वृत्तमा मात्र नभई प्रदेशकै राजनीतिमा नयाँ बहस र उत्साह थपेको छ । औपचारिक घोषणाको अन्तिम तयारी भइरहेको बुझिए पनि उनको उम्मेदवारीको चर्चाले आकांक्षीहरूमाझ भने दबाब सिर्जना गरेको रास्वपा स्रोतले जनाएको छ । कार्कीलाई पार्टीभित्रका युवा र वैचारिक धारका कार्यकर्ताहरूले अघि सारेको बुझिएको छ ।
रास्वपा गण्डकी प्रदेशको नेतृत्वका लागि वर्तमान सभापति, महामन्त्री लगायतका अन्य शीर्ष नेताहरूले पनि आ–आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका बेला डा. कार्कीको सम्भावित उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहे पनि आकांक्षीहरूको व्यवस्थापन रास्वपाका लागि चुनौतीपूर्ण बन्ने देखिएको छ ।



प्रतिक्रिया