पर्यटन मन्त्रीलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग


काठमाडौं, जेठ २९ । जेनजी मुभमेन्ट नेपालले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा गरिएको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको घटनाप्रति प्रतिक्रिया जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा आन्दोलनले सर्वोच्च अदालतले नियुक्ति प्रक्रियालाई अपारदर्शी, त्रुटिपूर्ण तथा सुशासनको मूल्यविपरीत ठहर गरेको उल्लेख गर्दै योग्यतामा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त नगरी अन्य व्यक्तिलाई नियुक्त गर्नु मेरिटोक्रेसीमाथिको खुला प्रहार भएको जनाएको छ।

विज्ञप्तिमा अदालतले नै नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाइसकेको अवस्थामा सम्बन्धित मन्त्री पदमा बसिरहनुको नैतिक र राजनीतिक आधार समाप्त भएको उल्लेख गरिएको छ। जेनजी मुभमेन्टले उक्त नियुक्ति प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

आन्दोलनले राज्यका निकायहरूलाई भागबण्डा, नातावाद र राजनीतिक संरक्षणवादको माध्यम बनाउने प्रवृत्तिले सुशासन कमजोर बनाउने भन्दै सार्वजनिक नियुक्तिहरू योग्यता, पारदर्शिता र प्रतिस्पर्धाका आधारमा हुनुपर्ने धारणा व्यक्त गरेको छ।

Skip This

Omoda E5 Pro