धमलाको त्याग र समर्पण लोभलाग्दो छ : धर्मेन्द्र झा


रुपन्देही । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले नेपाली पत्रकारिता क्षेत्रमा पत्रकार ऋषि धमलाको त्याग र समर्पण लोभलाग्दो रहेको बताएका छन् ।

रुपन्देहीको सैनामैनामा गौतमबुद्ध प्रेस क्लबद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झाले धमलाले नेपाली पत्रकारितामा पुर्‍याएको योगदानको कदर गरे । उनले धमलाको कार्यशैली र निरन्तरता नयाँ पुस्ताका पत्रकारहरूका लागि समेत प्रेरक हुन सक्ने उल्लेख गरे ।

सोही कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार ऋषि धमलाले पत्रकारिता जगत् जहिले पनि जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले समाज र देशलाई सही मार्गनिर्देशन गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै भने, “हामीले देश र जनतालाई कुनै पनि हालतमा गलत सूचना दिनु हुँदैन । सत्य र तथ्यमा आधारित पत्रकारिता नै आजको आवश्यकता हो ।”

गौतमबुद्ध प्रेस क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।