आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै सातै प्रदेश,  कुन प्रदेशको कति बजे ?


काठमाडौं, असार १ । आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्दैछन्। कानुनी व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता अनुरूप सबै प्रदेश सरकारहरूले आज आ(आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।

नेपालको संवैधानिक र कानुनी प्रबन्धअनुसार तीनवटै तहका सरकारले बजेट सार्वजनिक गर्ने अलग(अलग मिति तय गरिएको छ। संविधानमै उल्लेख भएअनुसार संघीय सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ। संघीय बजेट आइसकेपछि सोही मार्गदर्शन र वित्तीय हस्तान्तरणको सिलिङमा आधारित भएर प्रदेशहरूले असार १ गते बजेट प्रस्तुत गर्ने कानुनी व्यवस्था अन्तरसरकारी वित्त व्यवस्थापन ऐनमा गरिएको हो। यसैगरी स्थानीय तहहरूले भने आगामी असार १० गतेभित्र आफ्नो बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

यस पटकको बजेटमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारहरूले केन्द्रीय सरकारको नीति अनुरूप नै सुशासन, कृषिको आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार र भौतिक पूर्वाधार निर्माण जस्ता परम्परागत तथा लोकप्रिय विषयहरूलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना कार्यक्रमहरू तय गरेका छन्।

देश सभाहरूले तय गरेको कार्यतालिका अनुसार मधेश प्रदेशले दिउँसो १ बजे, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।