काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारततर्फ चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चिया निर्यातको समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल भइरहेको र त्यो सकारात्मक दिशातिर अघि बढेको जानकारी दिएकी हुन् ।
भारततर्फ चिया निर्यातमा एकाएक अवरोध आएपछि विगत तीन दिनयता इलामलगायत देशभरका चिया उद्योगीहरूले आफ्ना उद्योग तथा कारखाना पूर्ण रूपमा बन्द गरेका छन् । आन्दोलित चिया उद्योगी र किसानहरू मर्कामा परेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर सहजीकरण गरिरहेको मन्त्री चौधरीको दाबी छ ।
‘विगतमा जस्तै चिया निर्यात सहज बनाउन र चिया उद्योगीका समस्या समाधान गर्न मन्त्रालयले गम्भीर भएर पहल गरिरहेको छ,’ संसद्मा बोल्दै मन्त्री चौधरीले भनिन्, ‘यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक कदम चालिएकाले छलफल सकारात्मक दिशातिर गइरहेको जानकारी गराउन चाहन्छु ।’
त्यस अवसरमा मन्त्री चौधरीले कृषि क्षेत्रको रूपान्तरणका लागि सरकारले अघि सारेका योजनाहरू कार्यान्वयन गर्न सांसदहरूले रचनात्मक र महत्त्वपूर्ण सहयोग गर्ने विश्वाससमेत व्यक्त गरिन् ।



प्रतिक्रिया