आज कहाँ कहाँ हुँदैछ वर्षा?


काठमाडौं, असार ४ । देशमा हाल पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित केही पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन्। विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र मधेसका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकीका तराईका थोरै स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकीका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। मौसमविद्ले चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।