काठमाडौं, असार ४ । नेपाली राजनीतिमा लामो समयदेखि एउटा भाष्य स्थापित छ-‘राजनीति पाकाहरूको खेल हो।’ तर, बदलिँदो समय र प्रविधिको विकाससँगै यो भाष्यलाई भत्काउन युवा पुस्ता जुर्मुराएर अघि बढेको छ। यसैको एउटा बलियो र आशालाग्दो उदाहरणका रूपमा उभिएका छन्- विराज पौडेल।
दाङको घोराहीबाट नेपालकै कान्छा केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये एक बन्न सफल भएका पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने यी सामाजिक अभियन्ता तथा सूचना प्रविधिका विद्यार्थी पौडेलको आगमनले राजनीतिमा नयाँ ऊर्जा र नवीन सोचको सञ्चार गरेको छ।
परम्परागत राजनीतिले व्यक्तिपूजा र नातावादलाई प्रश्रय दिइरहेका बेला आईटी पृष्ठभूमिबाट आएका पौडेलको स्पष्ट अडान छ-व्यक्ति होइन, प्रक्रिया बलियो हुनुपर्छ। पौडेल प्रविधि बुझेका युवा हुन्। उनलाई राम्रोसँग थाहा छ कि जसरी एउटा बलियो सिस्टम र कोडबिना सफ्टवेयर चल्न सक्दैन, त्यसैगरी पारदर्शी प्रक्रियाबिना संगठन र देश चल्न सक्दैन।
उनी पार्टीलाई व्यक्ति केन्द्रित होइन, नीति र विधि केन्द्रित बनाउनुपर्छ भन्ने मान्यता राख्छन्। सुशासन, पारदर्शिता र प्रविधिमैत्री संगठन निर्माण नै उनको मुख्य एजेन्डा हो । जुन आजको डिजिटल युगमा नेपालका राजनीतिक दलहरूका लागि अनिवार्य भइसकेको छ।
नेपालका राजनीतिक दलहरूमा युवाहरूको सहभागिता केवल भीड जम्मा गर्न र आफू अनुकूलको नारा लगाउनमा मात्र सीमित गरिँदै आएको इतिहास छ। तर, पौडेल जस्ता अध्ययनशील, प्रविधिमैत्री र स्पष्ट दृष्टिकोण भएका युवाहरू रास्वपाको नेतृत्वदायी भूमिकामै आउनु आजको आवश्यकता रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
परम्परागत एजेन्डाभन्दा माथि उठेर डिजिटल इकोनोमी, सुशासन र नवप्रवर्तनका कुरा गर्ने पौडेल जस्ता नेतृत्व र व्यक्तित्व अहिलेको पुस्ता र समाजलाई चाहिएको छ। विराज केवल आधुनिकताका कुरा मात्र गर्दैनन्, उनी इतिहासप्रति उत्तिकै जिम्मेवार छन्। उनी भन्छन्, ‘जेनजीको ऊर्जा, शहीदहरूको बलिदान र शहीद परिवारको सपनालाई जोगाउँदै, प्रक्रियागत सिद्धान्त र संस्थागत नेतृत्वका लागि मेरो उम्मेदवारी हो।’
युवा ऊर्जा र नवीन सोचमार्फत रास्वपालाई थप संस्थागत, सक्षम र भविष्यमुखी बनाउने दृढ संकल्प पौडेलसँग छ।
घोराहीका जनताले उनीभित्रको सम्भावनालाई चिनेर नै उनलाई कान्छा महाधिवेशन प्रतिनिधिको रूपमा अनुमोदन गरी पठाएका हुन्। अब पालो रास्वपाका केन्द्रीय प्रतिनिधिहरूको हो। राजनीतिमा राइट म्यान इन द राइट प्लेस अर्थात् सही ठाउँमा सही व्यक्तिको चयन हुन सके मात्र पार्टी र देशले गति लिन्छ।
पौडेल जस्ता प्रविधि र सिद्धान्तलाई सँगै लिएर हिँड्न सक्ने युवा नेतृत्वमा आउनु रास्वपाका लागि मात्र होइन, समग्र देशकै राजनीतिक शुद्धीकरणका लागि एउटा सकारात्मक र गर्विलो कदम हुने निश्चित छ। उनको यो उम्मेदवारी र उत्साहलाई रास्वपाका केन्द्रीय प्रतिनिधिहरूले रचनात्मक सहयोग गर्न जरुरी देखिएको छ।



प्रतिक्रिया