ई–पासपोर्ट खरिद अनियमितता : आरजु राणा देउवालाई बयानमा उपस्थित हुन म्याद


काठमाडौं । ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि तानिएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री देउवालाई बयानमा उपस्थित हुन म्याद पठाएको हो ।

आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल गरेको बुढानीलकण्ठ नगरपालिका वडा २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

तत्कालीन परराष्ट्रमन्त्री डा.राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो । वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो ।

अख्तियारले पासपोर्ट छपाइ खरिद प्रक्रियामा राणाको संलग्नताको आशंकासहित बयानका लागि म्याद तामेल गरेको हो ।

अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा डा. राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ । अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ ।

अख्तियारले पासपोर्ट छपाइ अनियमितता सम्बन्धी उजुरीमा छानबिनका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी र विभागका तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धानका भइरहेको छ ।