काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्याउने निर्णय गरेको छ ।
यसअघि विधानमा वरिष्ठ नेताको पद थिएन । अब विधानमा वरिष्ठ नेताको पद रहने भएको छ । यसअघि १३ पदाधिकारी हुने व्यवस्था थियो । विधान संशोधन गरेर १९ पदाधिकारी पुर्याउने निर्णय गरेको हो ।
पदाधिकारीमा सभापति एक, वरिष्ठ नेता एक, एक महिला (अनिवार्य)सहित उपसभापति तीन, महामन्त्री दुई, अनिवार्य महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, अनिवार्य एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक, अनिवार्य एक महिलासहित सहकोषाध्यक्ष दुईजना हुनेछन् ।
(त्यस्तै, केन्द्रीय समितिको संख्या १२९ बाट १५८ (प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य( पुर्याउने निर्णय गरिएको छ ।
महामन्त्री दुई, सहमहामन्त्रीको संख्या चार पुर्याइएको छ । यसअघि महामन्त्री एक र सहमहामन्त्री अनिवार्य एक महिलासहित तीनजना थियो ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको रास्वपा सचिवालयको बैठकले वरिष्ठ नेताको व्यवस्था विधानमा गर्ने निर्णय गरेको हो ।
रास्वपाको महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदै छ ।



प्रतिक्रिया