पर्वत, १२ असार । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला अदालत पर्वतले २६ वर्ष कैद सजाय सुनाएको छ ।
जिल्ला अदालत पर्वतका न्यायाधीश वासुदेव पौडेलको इजलासले विकलाई पत्नी हत्या अभियोगमा दोषी ठहर गर्दै २६ वर्ष कैद सजाय सुनाएको हो ।
अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा २५ वर्ष जन्मकैद तथा पटके अपराध गरेको ठहर गर्दै थप एक वर्ष कैद सजाय निर्धारण गरेको जनाएको छ ।
अदालतको फैसलाअनुसार विकले विसं २०८२ कात्तिक २५ गते आफ्नी श्रीमती सीता विकमाथि कुटपिट गरी हत्या गरेका थिए ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो भने प्राप्त प्रमाण, बयान तथा परिस्थितिजन्य तथ्यका आधारमा अदालतले उनलाई दोषी ठहर गरेको हो ।
मुद्दाको अनुसन्धानका क्रममा सार्वजनिक भएको विवरणअनुसार विक घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि जबर्जस्ती करणी मुद्दामा पक्राउ परेर जिल्ला कारागार पर्वतमा थुनामा रहेका थिए ।
उक्त मुद्दामा अदालतले तोकेको रु ५० हजार धरौटी बुझाउन नसकेपछि उनी कारागारमै सजाय भुक्तान गरिरहेका थिए । विककी श्रीमती सीता विकले नै कात्तिक २४ गते धरौटी रकम बुझाएर उनलाई कारागारबाट छुटाएकी थिइन् । कात्तिक २५ गते विकले आफ्नै श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका थिए ।
घटनापछि मृतककी बुहारी शर्मिला विकले जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण तथा साक्षीहरूको बयानका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।
अदालतले घटनाको प्रकृति, अभियुक्तको आपराधिक पृष्ठभूमि, प्रस्तुत प्रमाण तथा पटके अपराध गरेको अवस्थालाई समेत आधार मानेर सजाय निर्धारण गरेको जनाएको छ ।



प्रतिक्रिया