गणेश नेपाली आत्मदाह प्रकरणः प्रधानमन्त्री शाहविरुद्ध माइतीघरमा नाराबाजी


काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै उनको गृहजिल्ला मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौँ महानगर प्रहरी र राज्यको आतंकका कारण गणेशले आफ्नै शरीरमा आगो लगाएको भन्दै आक्रोशित युवाहरूले दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

उनीहरूले प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध पनि चर्को नाराबाजी गरेका छन्।

युवाहरूले ‘बेरोजगारलाई गरिखान दे’ ‘घटनाको निश्पक्ष छानबिन गर’ ‘नागरिक मार्न पाइँदैन’ ‘राज्य आतंक बन्द गर’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

मुगुको सोरु गाउँपालिका–१ का २६ वर्षीय युवक गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभाग अगाडि आफ्नै बाइकबाट पेट्रोल निकालेर शरीरमा खन्याइ आगो लगाएको प्रहरीले जनाएको छ। 

उनको बाइकमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि विवाद भएको थियो। सोही क्रममा घटना भएको हो।