८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी


अम्मान । जोर्डनको वायु प्रतिरक्षा प्रणालीले बिहीबार बिहान इरानबाट प्रक्षेपण गरिएका आठ वटा मिसाइल खसालेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । जोर्डनका सशस्त्र बलका अनुसार ती मिसाइलहरू देशतर्फ आइरहेका थिए ।

अवरोधपछि मिसाइलका अवशेष विभिन्न स्थानमा खसे पनि मानवीय क्षति वा भौतिक नोक्सानी नभएको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ । यता, इरानी सेनाले भने जोर्डनस्थित अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

इरानको सरकारी समाचार एजेन्सी आईआरएनए र प्रेस टिभीका अनुसार इरानले अल–अजराक हवाई अड्डास्थित अमेरिकी सैन्य सञ्चार प्रणाली र इन्धन भण्डारण केन्द्रमा ड्रोन आक्रमण गरेको जनाएको छ । 

यद्यपि, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानको उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन । साथै, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले बताएको छ ।

यसैबिच, खाडी क्षेत्रका अन्य देशहरूमा पनि सुरक्षा सतर्कता बढाइएको छ । बहराइनको गृह मन्त्रालयले साइरन बजाइएको जानकारी दिँदै नागरिकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ । 

त्यस्तै, कुवेतको सेनाको जनरल स्टाफले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ । इरानको अर्धसरकारी तस्निम समाचार एजेन्सीका अनुसार कुवेतस्थित अमेरिकी सैन्य अड्डाका पूर्वाधारहरू पनि इरानको निशानामा परेका छन् । एजेन्सी