इरानलाई ट्रम्पको कडा चेतावनी : ‘हर्मुजमा जहाजमाथि आक्रमण भए पूर्वाधार ध्वस्त पारिने’


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकी तथा अन्तर्राष्ट्रिय व्यावसायिक जहाजहरूमाथि आक्रमण भए इरानविरुद्ध कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत राष्ट्रपति ट्रम्पले इरानले हर्मुज क्षेत्रमा क्षेप्यास्तर, रकेट, ड्रोन वा अन्य कुनै पनि हतियार प्रयोग गरी जहाजलाई निसाना बनाए अमेरिकाले इरानका रणनीतिक पूर्वाधार- जस्तै पुल र विद्युत् गृहहरूमा सीधा हमला गर्ने दाबी गरेका हुन्।

“यस बिन्दुबाट अगाडि इरानले हर्मुज जलडमरूमध्यमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा अमेरिकाले तेहरान र आसपासका क्षेत्रमा रहेका महत्त्वपूर्ण पुल वा पावर प्लान्टहरू ध्वस्त पार्नेछ,” ट्रम्पले उल्लेख गरेका छन्।

यो चेतावनी अमेरिका र इरानबिच तीव्र रूपमा चर्किएको सैन्य तनावको बिच आएको हो। हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिन्छ, जहाँबाट विश्वको ठुलो परिमाणमा तेल तथा ग्यास ओसारपसार हुने गर्दछ। अमेरिकाले हर्मुज क्षेत्रमा व्यावसायिक तथा सैन्य जहाजहरूको सुरक्षा सुनिश्चित गर्न आफ्नो सैन्य सतर्कता उच्च बनाएको जनाएको छ। इरानले भने अमेरिकी चेतावनीको प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमाथि कुनै हमला भए सशक्त जवाफ दिने प्रतिक्रिया दिएको छ।

मध्यपूर्वमा चर्कँदो यो सैन्य तनावले अन्तर्राष्ट्रिय समुद्री व्यापार, तेलको मूल्य र समग्र क्षेत्रीय सुरक्षा अवस्थामा गम्भीर असर पार्न सक्ने भन्दै विश्व समुदायले चिन्ता व्यक्त गरेको छ।