धादिङ । गत १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धादिङमा मात्रै १६ वटा पुलहरु पूर्ण रुपमा ध्वस्त बनाएको छ । धादिङको त्रिशूली नदी र यसका सहायक खोलाहरूमा रहेका १६ वटा झोलुङ्गे पुलहरू पूर्ण रूपमा ध्वस्त बनाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
प्रशासन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी गल्छी गाउँपालिकामा ८ वटा, बेनीघाट रोराङ गाउँपालिकामा ६ वटा र गजुरी गाउँपालिकामा २ वटा झोलुङ्गे पुलहरू बगाएको छ ।
गल्छी र नुवाकोट जोड्ने फोस्रेटारकेउरीनी, जिन्टेटार, कोल्पुखोला, धैरेनी, आमटार, चिरौदी र मासटार क्षेत्रका पुलहरू बाढीले नामनिसान नरहने गरी बगाएको छ ।
त्यसैगरी गजुरी गाउँपालिकामा कालिकास्थान-माझिटार जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । बेनीघाट रोराङ गाउँपालिका अन्तर्गत त्रिशूली नदीमा रहेका मलिङ्गामभिल्ला, चिरौदी-घ्याल्चोक, चौकीटार घाट, तिक्राङ, कोती र धवादी क्षेत्रका झोलुङ्गे पुलहरू पनि बाढीको चपेटामा परेर क्षतिग्रस्त भएका छन् । यीमध्ये धेरैजसो पुलहरूले धादिङलाई छिमेकी जिल्ला गोरखा र गण्डकी गाउँपालिकासँग जोड्ने काम गर्दथे ।
१६ वटा पुल पूर्ण रूपमा बगेको भए तापनि अन्य ७ वटा झोलुङ्गे पुलमा भने आंशिक क्षति पुगेको छ । राजमार्ग सामुदायिक अस्पता-फिस्टार, बादरे, बोरे-सिउरेनीटार, भैंसी गौडा, बेलिनटार, भुतिया र बिहानी पम्प-खर्मटार क्षेत्रका पुलहरूमा आंशिक क्षति पुगेको प्रशासनको प्रतिवेदनमा उल्लेख छ । पूर्ण र आंशिक गरी कुल २३ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा ग्रामीण क्षेत्रको जनजीवन कष्टकर बनेको छ भने बालबालिकाहरूलाई विद्यालय जान र बिरामीहरूलाई अस्पताल पुर्याउन समेत कठिनाइ भएको छ ।
झोलुङ्गे पुलसँगै बाढीले ७ वटा पक्की पुलमा पनि पूर्ण क्षति पुर्याएको छ । कोल्पुटार, जहरेखेत, घाटबेसी, फुर्केखोला र जिन्टेटार जस्ता रणनीतिक महत्वका पक्की पुलहरू बाढीले बगाएको हो ।




प्रतिक्रिया