काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले स्वास्थ्य उपचारको नाममा भइरहेको अमानवीय कार्यप्रति गम्भीर आपत्ति जनाएकी छिन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पैसा नभएकै कारण अस्पतालको गेटमा बच्चा जन्माउन बाध्य हुनुपर्ने एउटा पीडादायी घटनाबारे सदनको ध्यानाकर्षण गराएकी हुन्।
‘जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल, अस्पताल रहँदैन, त्यो केवल सौदाबाजीको पसल बन्छ,’ उनले भनिन् । उनले गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटनाबारे चर्चा गर्दै त्यहाँका गरिब र विपन्न नागरिकले अस्पताललाई मन्दिर र डाक्टरलाई भगवान् ठान्ने गरे पनि सोही अस्पतालमा मानवताको अपमान भएको बताइन्।
घटनाको विवरण प्रस्तुत गर्दै सांसद ठाकुरले भनिन्, ‘राजविराजस्थित नगरपालिका वडा नम्बर १४ की असहाय गर्भवती महिला बबिताकुमारी पासवान अस्पताल पुगिन्। तर, त्यहाँ उपचार होइन, पहिले पैसाको मोलमोलाइ भयो । पैसा नभएकै कारण मध्यरातमा चिसो सडकमा उनलाई निकालियो र उनले अस्पतालको गेटबाहिर नै बच्चा जन्माउनुपर्यो। के यो हाम्रो स्वास्थ्य प्रणालीको विडम्बना होइन ।’
सांसद ठाकुरले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको स्मरणसमेत गराइन्। उनले यस घटनाको निष्पक्ष छानबिन गर्न, सत्य तथ्य सार्वजनिक गर्न र दोषी देखिएका व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेकी छिन्।




प्रतिक्रिया