काठमाडौँ । विगत साढे चार महिनादेखि बन्द रहेको ‘रिपोर्टर्स क्लब नेपाल’ भदौ २८ गते तीजको दर खाने दिन पारेर नयाँ थलो थापागाउँबाट औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।
क्लबका संस्थापक अध्यक्ष तथा स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले क्लबमा अब नियमित रुपमा साक्षात्कार कार्यक्रम सञ्चालन हुने र अब कसैले पनि रिपोर्टर्स क्बल बन्द गर्न नसक्ने स्पष्ट पारे ।
बालेन सरकारको कदमका कारण इतिहास बोकेको क्लब केही समय बन्द हुनुपरेको र दायित्व चुक्ता गरी नयाँ स्थानबाट पुनरागमन गरेको भन्दै अध्यक्ष धमलाले क्लबले अब समसामयिक विषयहरुका साक्षात्कार कार्यक्रमलाई सशक्त रुपमा उठान गर्ने स्पष्ट परे ।
बालेन सरकारलाई अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि किसिमको बन्देज वा लगाम नलगाउन धमलाले स्पष्ट चेतावनी दिएका छन्। रिपोर्टर्स क्लब र स्वतन्त्र नागरिक अभियान सरकारको नियतवश विरोधी नरहेको समेत धमलाले स्पष्ट पारेका छन् ।
वर्तमान सरकारले जनमतअनुसार पाँच वर्षको पूर्ण कार्यकाल चलाउनुपर्नेमा धमलाले जोड दिए तर सरकारले बाटो बिराएमा वा जनविरोधी निर्णय गरेमा रिपोर्टर्स क्लब र स्वतन्त्र नागरिक अभियानले पनि सशक्त रूपमा रचनात्मक खबरदारी गरिरहने धमलाको भनाइ छ।
‘हामी बालेन सरकारको विरोधी होइनौँ, यो सरकारले पाँच वर्ष काम गर्नुपर्छ। तर सरकारले बाटो बिराएमा खबरदारी गर्न पछि पर्दैनौँ’– ऋषि धमला ।
छिमेकी देश भारतमा भएको ब्रिक्स शिखर सम्मेलनमा नेपालको कूटनीतिक कमजोरीका कारण प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै सहभागिता जनाउन नसकेको धमलाले बताए। ब्रिक्समा नेपालको उपस्थिति छुटे पनि आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता हुनु सकारात्मक कदम भएको उनले टिप्पणी गरे। राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री बालेनले जलवायु परिवर्तनका विश्वव्यापी असर र नेपालले व्यहोरेको बाढीपहिरोको क्षतिबारे बोल्नुपर्नेमा धमलाले जोड दिए । कार्बन उत्सर्जन गर्ने प्रमुख धनी राष्ट्रहरूबाट नेपालले राष्ट्रसंघीय महासभामा औपचारिक रूपमै क्षतिपूर्ति दाबी गर्नुपर्ने धमलाको अडान छ।
साथै, अध्यक्ष धमलाले भारत र चीन दुवै छिमेकी मुलुकहरूसँग बालेन सरकारले सुमधुर कूटनीतिक सम्बन्ध कायम राख्नुपर्नेमा पनि जोड दिए ।
यसैबीच नुवाकोट, रसुवा र धादिङका बाढीपीडित क्षेत्रमा आफैँ पुगेर उद्धार र राहत वितरणमा खटिएको अनुभव सुनाउँदै धमलाले विपद्पछिको पुनर्स्थापनामा गम्भीर चुनौती देखिएको बताए।
होल्डिङ सेन्टरहरूमा बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धाहरूको स्थिति दयनीय रहेको र बालबालिकाहरू शिक्षाबाट वञ्चित हुनुपरेको हालको अवस्था रहेको धमलाले सार्वजनिक गरे। त्यसैले सुझबुझपूर्ण ढङ्गले पीडितहरूको स्थायी पुनरुत्थान गरिनुपर्नेमा धमलाले जोड दिए। घरबारविहीन भएका पीडितहरूलाई आगामी छ महिनाभित्र आवासका साथै जीविकोपार्जनका लागि खेतबारीको समेत व्यवस्था गर्न सरकारसँग धमलाले माग गरे।
अध्यक्ष धमलाले अब हुने स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवार उठाउनुपर्ने बहस अघि सारेका छन्। स्वतन्त्र नागरिक अभियानले यो एजेन्डालाई देशव्यापी अभियानका रूपमा लैजाने समेत उनले दाबी गरेका छन्।
यसैबीच, धमलाले परम्परागत मिडियाका साथै नयाँ पुस्ताका डिजिटल मिडियाका पत्रकारहरूको हकहितका लागि पनि आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएका छन्।
थापागाउँको नयाँ हलबाट सञ्चालनमा आएको रिपोर्टर्स क्लबले अब आफ्ना नियमित साक्षात्कार, विचार-विमर्श र पत्रकार सम्मेलनका कार्यक्रमहरूलाई निरन्तरता दिने भएको छ। साढे चार महिनाको विश्रामपछि पुनः शुरु भएको यो क्लबले आगामी दिनमा जनताको आवाज निरन्तर रुपमा उठाउने विश्वास लिइएको छ।




प्रतिक्रिया