काठमाडौँ । साढे चार महिना बन्द भएर पुनः सञ्चालनमा आएको ‘रिपोर्टर्स क्लब नेपाल’को पहिलो उद्घाटन साक्षात्कार कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक रन्जन खनालले क्लबको पुनरागमनलाई नेपाली राजनीतिमा ‘प्रतिपक्षी बेन्च’को पुनर्जन्मका रूपमा चित्रण गरेका छन्।
क्लबका संस्थापक अध्यक्ष ऋषि धमलालाई ‘नेपाली पत्रकारिताको इतिहास’ र ‘आवाजविहीनहरूको आवाज’का रूपमा सम्बोधन गर्दै खनालले रिपोर्टर्स क्लब एक मञ्च मात्र नभई राष्ट्रको धुकधुकी र नागरिकको आवाज भएको दाबी गरे।
कार्यक्रममा बोल्दै विश्लेषक खनालले धमलालाई ‘सडकको नेता’को संज्ञा दिए। ऋषि धमला नेतृत्वको स्वतन्त्र नागरिक अभियानले अघि सारेको आगामी स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने एजेन्डाप्रति आफ्नो पूर्ण समर्थन रहेको उनले स्पष्ट पारे।
नागरिकस्तरबाट उठ्ने मुद्दाहरूले नै लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै उनले भने, ‘सरकारका सही कामको समर्थन र गलत कदमको सशक्त विरोध गर्ने परिपाटी नै परिपक्व राजनीतिको आधार हो।’
आफ्नो विचार राख्ने क्रममा खनालले राष्ट्रियता, पहिचान र संवैधानिक व्यवस्थाका विषयमा समेत टिप्पणी गरे।
एकपटकको नेपाली, सधैँको नेपाली अर्थात् विश्वभर छरिएर रहेका नेपालीहरूलाई जोड्दै देश निर्माणमा उनीहरूको ज्ञान र पूँजी उपयोग गर्नुपर्नेमा उनले जोड दिए। मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन र राष्ट्रिय एकता कायम राख्न हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता रहेको दाबी उनले गरे।
साढे चार महिनापछि थापागाउँको नयाँ हलबाट सुरु भएको पहिलो साक्षात्कारसँगै आगामी दिनमा रिपोर्टर्स क्लबले राजनीतिक तथा सामाजिक बहसलाई पुनः तीव्रता दिनेछ ।




प्रतिक्रिया