काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
तिजको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले हरितालिका तिज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताएका छन् । उनले तिजले नेपाली समाजमा आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् ।’हरितालिका तिज हाम्रो मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व हो । यस पर्वले नेपाली समाजमा आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको छ,’ उनले भनेका छन् ।
समयसँगै समाज परिवर्तन हुँदै गएको र महिलाको भूमिका घरपरिवारमा मात्र सीमित नरहेको बताउँदै आङदेम्बेले राष्ट्र निर्माण, राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
उनले तिजलाई परम्परा र उत्सवका रूपमा मात्र नभई महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश दिने अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।
महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर तथा सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको आङदेम्बेको भनाइ छ ।
तिज पर्वले आपसी सद्भावलाई थप मजबुत बनाउँदै नेपाली समाजलाई न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध बनाउन नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन् ।




प्रतिक्रिया