काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक दुई दिनदेखि काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा जारी छ । कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शङ्कर पोखरेलले तयार पारेका दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबिच घनिभूत छलफल भइरहेको जनाइएको छ ।
एमाले सचिवालय बैठकले गत जेठ १० गते उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले देशभर सुझाव सङ्कलन गरेर सदस्यसचिव शङ्कर पोखरेललाई असार २५ गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिइएको थियो ।
गत भदौ २६ गते शुक्रबार एमाले कार्यालय च्यासलमा बसेको कार्यदल बैठकले थापा र पोखरेलका दुवै प्रतिवेदनलाई मिलाएर एउटै बनाउने भन्दै नेताहरूले कार्यदलको आवासीय बैठक बोलाएका हुन् ।
एमालेभित्र पार्टी पुनर्गठनका सवालमा नेताहरूबिच एउटै मत हुन सकेको छैन । उपाध्यक्ष थापा वर्तमान नेतृत्वलाई दोष दिएर हटाउन नहुने पक्षमा छन् भने महासचिव पोखरेल कार्यकर्ताको भावनाअनुसार आवश्यक परे वर्तमान नेतृत्व (अध्यक्ष) लाई बिदाइ गर्नुपर्ने पक्षमा छन् ।
यद्यपि, दुवै मतलाई एकीकृत गरेर एउटै प्रतिवेदन बनाउने निर्णय गर्दै कार्यदल बैठक सोमबार बेलुका सक्ने तयारी रहेको एमाले सचिव तथा कार्यदल सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।




प्रतिक्रिया