हामीले नबोलेको कुरा जोडेर अपमान गरियो, विपिन आचार्य र क्रान्तिशिखाले माफी माग्नुपर्छ : सुरेन्द्रजंग थापा


काठमाडौँ । जेनजी आन्दोलनका घाइते सुरेन्द्रजंग थापाले आन्दोलनका घाइते तथा शहीद परिवारहरूले अहिलेसम्म पनि विभिन्न दुःखकष्ट र उपेक्षा भोग्न बाध्य भइरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले घाइतेहरूले नबोलेको कुरा संसद्‌मा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले घाइते तथा शहीद परिवारको अपमान गरेको आरोप लगाए ।

थापाले आफूहरूले कसैलाई पनि ‘घिसार्छौँ वा काट्छौँ’ भनेर कहिल्यै नभनेको स्पष्ट पारे । “हामीले नबोलेको विषयलाई रास्वपाका महामन्त्री विपिन आचार्यले संसद्‌मा उल्लेख गरेर हाम्रो घोर अपमान गर्नुभएको छ,” थापाले भने, “सदनमा त्यसरी बोलिएको कुराले सम्पूर्ण शहीद परिवार र जेनजी घाइतेहरूको आत्मसम्मानमा गहिरो चोट पुगेको छ।”

आन्दोलनका घाइते तथा शहीद परिवारको भावनामाथि खेलवाड गरिएको भन्दै उनले रास्वपाका जिम्मेवार नेताहरूले तत्काल माफी माग्नुपर्ने माग गरे । “हामीमाथि भएको यो अपमान सह्य हुँदैन, रास्वपा महामन्त्री विपिन आचार्य र सचेतक क्रान्तिशिखा धितालले संसद्‌मा बोलेको कुराप्रति माफी माग्नुपर्छ,” थापाले स्पष्ट पारे ।

आन्दोलन सकिए पनि घाइतेहरूको स्वास्थ्योपचार र जीविकोपार्जनमा अझै समस्या कायम रहेको उल्लेख गर्दै थापाले शहीद र घाइतेका मुद्दाप्रति राज्य र राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।