काठमाडौँ । जेनजी आन्दोलनका घाइते प्रकाश बोहराले पूर्वतयारीमा कुनै सहयोग नगर्ने तर कार्यक्रम सकिएपछि नकारात्मक टिप्पणी गर्ने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका नेताहरूलाई नभएको बताएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बोहराले रास्वपा सचेतक क्रान्तिशिखा धितालले ‘जेनजी शहीद स्मृति दिवस’लाई ‘कन्सर्ट’ भन्दै टिप्पणी गरेकोमा कडा आपत्ति जनाए ।
देशभित्रै रोजगारीको सिर्जना गर्न तथा नातावाद र कृपावादको अन्त्यका लागि जेनजी युवाहरूले आन्दोलन गरेको स्मरण गराउँदै बोहराले स्मृति दिवसका लागि सबै पक्षलाई खबर गर्दा पनि रास्वपा नेताहरू सहयोगका लागि अघि नबढेको गुनासो गरे । “स्मृति दिवस कसरी मनाउनुपर्थ्यो भनेर रास्वपा र सचेतक क्रान्तिशिखा धितालले हामीलाई पहिले नै सिकाइदिएको भए हुन्थ्यो,” बोहराले भने, “हामीले सबै पक्षलाई खबर गरेका थियौँ, तर रास्वपाका नेताहरू सहयोग गर्न आउनुभएन।”
कार्यक्रम आयोजना गर्दा सहयोग नगर्ने तर सम्पन्न भएपछि उल्टै शहीदको अपमान भयो भन्दै टिप्पणी गर्नु न्यायोचित नभएको उनको भनाइ थियो । स्मृति दिवसजस्तो गम्भीर र मर्यादित कार्यक्रमलाई ‘कन्सर्ट’ को संज्ञा दिएर सचेतक धितालले शहीद तथा घाइतेहरूको योगदानको अवहेलना गरेको भन्दै उनले यस्ता गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरे ।




प्रतिक्रिया