काठमाडौँ । सडकमा चालकले गरेको आत्मदाह प्रयासको घटनाप्रति ध्यानाकर्षण गराउँदै राष्ट्रिय जेनजी नागरिक अभियानले प्रहरीको नेतृत्वमा गठित छानबिन समिति आफूहरूलाई अस्वीकार्य रहेको बताएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जेनजी रविकिरण हमालले सर्वसाधारणलाई मानसिक तनाव दिएर आत्महत्याको स्थितिमा पुर्याउने निकायले नै आफैँ छानबिन गर्नु देखावटी नाटक भएको आरोप लगाए । ‘नागरिकलाई सडकमा मर्न बाध्य बनाउने, अनि आफैँ छानबिन समिति बनाएर चोखिन खोज्ने ? यो नाटक बन्द गरिनुपर्छ,’ हमालले भने, ‘आफ्नो देशमा नागरिक तड्पिएर मरिरहँदा जनप्रतिनिधि र नेतृत्व भने गैरजिम्मेवार बनेका छन् ।’
हमालले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि समेत प्रश्न उठाए । देशमा नागरिक असुरक्षित भइरहँदा संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय मञ्चमा जानु र औपचारिकतामा मात्र सीमित हुनुको कुनै अर्थ नरहेको उनको भनाइ थियो । सांसदहरू सत्ताको पछाडि लागेर मूकदर्शक बनेको टिप्पणी गर्दै उनले संसद् निष्क्रिय बनेको र गलत कामको विरोध गर्ने हिम्मत कसैले नगरेको बताए । राजस्व र राज्यकोष बढाउने नाममा सर्वसाधारणमाथि आतङ्क सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै यस्तै अवस्था रहे नागरिक सडकमा उत्रन बाध्य हुने उनले चेतावनी दिए ।

यस्तै, राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले ट्राफिक प्रहरीको व्यवहारकै कारण चालकहरू चरम निराशामा पुगेको दाबी गरे । सार्वजनिक भिडियोमा देखिएको दृश्यले प्रहरीको व्यवहार पुष्टि गर्ने उल्लेख गर्दै उनले भने, ‘जसको ज्यादतीका कारण चालकले यस्तो कदम चाले, उसैको नेतृत्वमा हुने छानबिन निष्पक्ष हुन सक्दैन । गणेश नेपाली र दावा लामाजस्ता हजारौँ चालकहरू यस्तै पीडा भोग्न बाध्य छन् ।’
सोडारीले रसुवाको सुरुङ दुर्घटनामा राज्यले देखाएको उदासीनताको उदाहरण दिँदै सरकार नागरिकप्रति निर्मम बनेको आरोप लगाए । सुरुका दिनमा माटो निकाल्न नसकिने दाबी गरिए पनि पछि नेपाली सेनाले शव निकालेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘त्यही तत्परता शुरुमै देखाएको भए धेरैको ज्यान जोगिन सक्थ्यो ।’
अभियानले आफूहरूले सरकार वा प्रधानमन्त्रीको व्यक्तिगत विरोध नगरी गलत कदमको खबरदारी मात्र गरेको स्पष्ट पारेको छ । बाढीपीडितलाई राहत, विद्यार्थीलाई सहज इन्धन र सीमा रक्षाका विषय उठाउनु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै सोडारीले एउटा ट्राफिक प्रहरीलाई मात्र कारबाही गरेर पन्छिन नमिल्ने बताए । राज्यले आफ्नो रवैया नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत उनले दिए ।




प्रतिक्रिया