सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारत सुरक्षा अधिकारीबीच बैठक


विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने तथा सीमापार हुने अपराध नियन्त्रण गर्ने विषयमा सशस्त्र प्रहरी बल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीबीच समन्वय बैठक भएको छ।

भारतको जोगबनीस्थित सीमा नियन्त्रण चौकी (बीसीपी) मा भएको बैठक ५६औँ वाहिनी सशस्त्र सीमा बल बथनाहाअन्तर्गत एफ समवाय जोगबनीको आयोजनामा भएको हो। बैठकको अध्यक्षता ५६औँ वाहिनीका द्वितीय कमान अधिकारी नितिन कुमार गुप्ताले गरेका थिए।

बैठकमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रकुमार भण्डारीले गरेका थिए। टोलीमा डीएसपी सूर्यप्रकाश शर्मा, प्रहरी निरीक्षक गणेश मल र धीरज मललगायत सुरक्षाकर्मी सहभागी थिए। भारतीय पक्षबाट गुप्तासहित द्वितीय कमान अधिकारी प्रवीण कुमार, एफ समवाय प्रभारी निरीक्षक हरेन्द्र सिंहलगायत अधिकारी उपस्थित थिए।

बैठकमा सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्न दुवै देशका सुरक्षाकर्मीबीच संयुक्त गस्तीलाई थप प्रभावकारी बनाउने सहमति भएको छ। साथै सीमापार अपराध, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि आवश्यक सूचना र गुप्तचर जानकारी तत्काल आदानप्रदान गर्ने निर्णय गरिएको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाउने विषयमा पनि छलफल भएको थियो। त्यसैगरी नेपाल–भारतको दशगजा क्षेत्रमा अतिक्रमण हुन नदिन दुवै पक्षले सतर्कता अपनाउने सहमति जनाएका छन्।

बैठकमा नेपाली तथा भारतीय मुद्राको अवैध ओसारपसार रोक्न सीमा क्षेत्रमा कडा निगरानी गर्ने विषयमा समेत सहमति भएको छ। दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी व्यवस्था कायम राख्न आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।