रसुवामा यातायात ठप्प : खाद्यान्न अभाव, बिरामी मारमा


काठमाडौैं । भोटेकोसी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । 

सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न संकट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन्। बाढी गएको एक महिना बितिसक्दा यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीहरू प्रभावित भएको रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङको भनाइ छ ।“सडक नहुँदा सामान ल्याउनै सकिँदैन, पाइहाले ढुवानी खर्च मात्रै प्रत्येक पटक ५० हजारभन्दा बढी लाग्ने गरेको छ । अहिलेको अवस्थामा सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाललाई तत्काल जोडिदिए हामी व्यापारी र आम उपभोक्ता दुवैलाई सहज हुने थियो,”उनले भने । 

अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठको अनुभव उस्तै छ । पहिले मागअनुसार सहजै सामान भित्रिने र ढुवानी खर्च सस्तो पर्ने गरेकामा अहिले अवस्था पूर्णरूपमा बदलिएको बताउँछन् ।  भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा लगाएको बन्दाकोपी (काउली) सडक अवरुद्ध भएकै कारण बजारसम्म पुर्‍याउन सकिएको छैन ।

रसुवाको गतलाङमा फलेको लाखौँ मूल्य बराबरका बन्दाकोपी बारीमै कुहिएको छ । गत्लाङका स्थानीय फुर्पु सिंगी तामाङले भनिन्,“बाढी गएको एक महिना बित्यो। राहतले केही महिना पुग्ला तर सधैँ पुग्दैन । कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो । त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ ।” 

सडक सञ्जाल विच्छेद हुँदा बिरामीहरू मारमा परेका छन् ।  जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सडक नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन। रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गरिब तथा विपन्न नागरिकका लागि हेलिकप्टरको खर्च धान्न असम्भव छ । “जटिल बिरामी पर्दा पैसा हुने हेलिकप्टरमार्फत काठमाडौँ जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन,” तामाङले भने ।   दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः जोड्नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर (डोजर) ल्याएर सडक खुलाउने काम निरन्तर भइरहेको छ । 

प्रजिअ पाण्डेले भने, “सडक खुलाउने काम भइरहेको छ । डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ । निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय तथा सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ। रासस