रामेछाप । लोक तथा दोहोरी क्षेत्रका चर्चित गायक तथा सर्जक प्रकाश कटुवाल अब कलाकारितासँगै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। उनी हाल नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने तयारीमा छन् ।
उमाकुण्ड गाउँपालिका–३ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका कटुवाल अहिले महाधिवेशन प्रतिनिधिको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका नेता, कार्यकर्ता तथा प्रतिनिधिसँगकाे भेटघाटमा सक्रिय छन्। उनले आफू पद प्राप्तिका लागि मात्रै नभई संगठन निर्माण र कार्यकर्ताका समस्या तथा अपेक्षालाई नेतृत्व तहसम्म पुर्याउने उद्देश्यले राजनीतिमा हाेमिएको बताए ।
‘सिरानी टाङमुनी’, ‘यो रक्सीको गन्ध’, ‘चोर बिरालो पल्क्यो’, ‘मोही खाउला बोट्कामा’, ‘फूल फूल्यो केशरी’ र ‘छेकन जामाले’ लगायतका गीतमार्फत सांगीतिक क्षेत्रमा पहिचान बनाएका कटुवालले कलाकारिताबाट प्राप्त सामाजिक सम्बन्ध र पहिचानलाई अब जनसेवामा जोड्ने लक्ष्य रहेको बताएका छन्।
कटुवालका अनुसार कांग्रेस सभापति गगन थापाको नेतृत्व, विचार र कार्यशैलीले आफूलाई सक्रिय राजनीतिमा आउन प्रेरित गरेको हो। युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्दै संगठनलाई स्थानीय तहदेखि जिल्लास्तरसम्म थप चलायमान बनाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए कार्यकर्ताका आवाज नेतृत्वसमक्ष पुर्याउने, युवाको सहभागिता बढाउने तथा पार्टी संगठनलाई थप मजबुत बनाउन भूमिका खेल्ने कटुवालले बताए । विशेष महाधिवेशनकाे आयाेजना गरेकाे समयमा उनी खुलेर गगन थापाकाे पक्षमा उभिएका थिए ।
जिल्ला निर्वाचन समितिका अनुसार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापको निर्वाचन १३ गते मन्थलीमा हुँदैछ।





प्रतिक्रिया