काठमाडौं । केही दिनदेखि भइरहेको लगातार वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका प्रमुख राजमार्ग तथा ग्रामीण सडकको यातायात प्रभावित भएको छ। विभिन्न स्थानमा पहिरो, लेदो र नदी कटानका कारण सडक अवरुद्ध भएपछि कतिपय क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ भने जोखिम बढेका सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङको बेनीघाट रोराङस्थित कृष्णभीर तथा गजुरी र तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरामा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडकका दुवै लेन बन्द हुँदा यात्रु तथा मालवाहक सवारी प्रभावित भएका छन्।
बाढीपहिरोको सबैभन्दा बढी प्रभाव बिपी राजमार्गमा देखिएको छ। काभ्रेको रोशी गाउँपालिकास्थित चारसयवेशी र गिम्दीवेशीमा पहिरो खसेपछि सडक दुवैतर्फ पूर्ण रूपमा बन्द भएको छ। जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुली क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलस्थित पकुचामा पहिरो खसेपछि दुवैतर्फको यातायात अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिकास्थित टाकुर्चे र पाङदुरडोलमा लेदो तथा ढुंगा खस्दा कान्ति लोकपथ पनि ठप्प बनेको छ।
त्रिभुवन राजपथमा भने सवारीको प्रकृति र समयअनुसार आवागमन व्यवस्थापन गरिएको छ। साना तथा यात्रुवाहक सवारीका लागि निश्चित समय तोकिएको छ भने १० चक्काभन्दा ठूला र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको छ। इन्धन तथा ग्यास बोकेका सवारीलाई भने उक्त प्रतिबन्धबाट अलग राखिएको छ।
वर्षाका कारण जोखिम बढेपछि टोखा–छहरे सडकमा समेत राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ।
चितवनतर्फ नारायणगढ–मुग्लिन सडकमा निरन्तरको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि सडक बन्द गरिएको छ। यस्तै, रसुवाको उत्तरगया गाउँपालिकास्थित खाल्टेमा त्रिशूली नदीको कटान र बाढीले पासाङ ल्हामु राजमार्गमा ठूलो क्षति पुर्याएको छ। स्याफ्रुबेँसीतर्फ जान टोखा–छहरे, बिदुर, नुवाकोट दरबार, लच्याङ, कालिकास्थान हुँदै धुन्चे पुग्ने वैकल्पिक कच्ची सडक प्रयोग गर्न आग्रह गरिएको छ।
पूर्वी नेपालमा पनि सडक आवागमन प्रभावित भएको छ। सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुंगाको भँडारे खोलामा आएको लेदो बाढीले सडकको करिब १५ मिटर भागमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ। उदयपुर र सोलुखुम्बु खण्डमा समेत रातिको समयमा आवागमन रोकिएको छ।
ताप्लेजुङ, भोजपुर, खोटाङ, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका मुख्य तथा भित्री सडकमा पनि वर्षाजन्य जोखिमलाई ध्यानमा राख्दै साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशमा सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको पुतलीबजारस्थित तिनधारेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ निसिखोलास्थित कानाबगर र पर्वतको कुश्मास्थित तमादी खोलामा लेदो पहिरो खसेपछि सडक बन्द भएको छ। पर्वत खण्डमा रातिको आवागमनसमेत रोकिएको छ।
मनाङतर्फ बेँसीसहर–मनाङ सडकको खरखरे भीर र मनाङको खोत्रोमा पहिरो गएपछि सडक पूर्ण रूपमा बन्द भएको छ। मनाङमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको सवारी आवागमन रोकिएको छ।
म्याग्दीको बैसरी र सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। मुस्ताङको कालोभीर र सेल्फीडाँडामा लेदो खसेपछि जोमसोम–कोरला सडक पनि प्रभावित भएको छ। कास्की, म्याग्दी र मुस्ताङमा जोखिम न्यूनीकरणका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
लुम्बिनी प्रदेशतर्फ दाङको ग्वारखोलास्थित पुरानो पुलमुनिको माटो खसेपछि तुलसीपुर–घोराही सडक अवरुद्ध भएको छ। राप्ती राजमार्गका तुलसीपुर–कपुरकोट, भालुवाङ–गनाहा खोला, घोराही–होलेरी तथा तुलसीपुर–कालीमाटी सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ। सल्यानको खारखोलामा पहिरो गएपछि राप्ती राजमार्गसमेत अवरुद्ध भएको छ।
मदन भण्डारी राजमार्ग र सहिदमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित भएका छन्। गुल्मीको स्यालबिसौना, रोल्पाको माडीचौर तथा गरगरे क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बेलबगर, गुल्मीको राक्से तथा पातीखोला, नवलपरासी पूर्वको घुमाउरीघाट र पाल्पाको कासिबनमा पहिरो तथा खोलाको बहाव बढेका कारण विभिन्न खण्डमा यातायात ठप्प भएको छ।
अर्घाखाँचीको बरबोटमा पहिरो खसेपछि सन्धिखर्क–गोरुसिङ्गे सडक पूर्ण रूपमा बन्द भएको छ।
कर्णाली प्रदेशमा पनि वर्षाजन्य विपद्को प्रभाव व्यापक छ। कालिकोटको गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। हुम्लाको खच्चामा पहिरो गएपछि कर्णाली करिडोरसमेत बन्द भएको छ।
सुदूरपश्चिममा डोटी जिल्लाभर असोज १० गते बिहानदेखि ११ गते बिहान ७ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। दार्चुलाको ऐरिछिनामा ठूलो ढुंगा खसेपछि महाकाली राजमार्ग पनि अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण अझै पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।




प्रतिक्रिया