प्रतिनिधिसभाः प्रविधिको चुनौतीदेखि जनताले भोगिरहेका समस्याको उठान


काठमाडौँ, १५ असोज । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले पछिल्लो प्रविधिका चुनौतिदेखि जनताले भोगिरहेका समस्याको उचित व्यवस्थापनसम्मका विषय उठाउका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनीहरुले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी, सुशासन कायम, विकास, समृद्धिलगायत विषयमा आफ्नो धारणा व्यक्त गरे ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खुसबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को तीव्र विकासमा अवसरसँगै चुनौती पनि देखिएको बताएका छन् । एआईले जनताको चाहना पहिचान गर्न सक्ने तर, मानवीय जवाफदेहिता दिन नसक्ने बताए । उनले भने, “एआईलाई मान्छेको विकल्प होइन, हाम्रो क्षमता बढाउने साधन मात्रै बनाउनुपर्छ ।”

नेपाली कांग्रेसका सांसद बासना थापाले भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजीसम्बन्धी जिल्लागत र व्यक्तिगत विवरण सार्वजनिक गर्न सरकार समक्ष माग गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विष्णुमाया विकले अघिल्लो राजनीतिक नेतृत्वले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान दिएको जानकारी गराइन् ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद बलावती शर्माले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य–मान्यताको आत्मसात गर्दै कार्य सम्पादन गर्न आग्रह गरिन् ।

श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभामा अरुण तेस्रो परियोजनाको मुख्य सुरुङ निर्माण गर्ने क्रममा हाइड्रो कम्पनी र स्थानीयबीच धेरै वर्ष अघि गरेको सम्झौता अहिलेसम्म पनि कार्यान्वयन नभएको विषयमा सरकारसमक्ष ध्यानार्कषण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले नेपाल सरकारले स्थापना गरेको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ को कार्यकारी निर्देशक नियुक्तिमा अपारदर्शिता देखिएको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई अनुसन्धानका दायरामा ल्याउनुपर्ने माग गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जलस्रोतको उचित सदुपयोग गर्दै देशको समृद्धि र विकासमा जोड दिनुपर्ने धारणा राखे ।

कांग्रेसका सांसद नीनुकुमारी कर्णले जनकपुर विमानस्थलको स्तरोन्नतितर्फ विशेष ध्यान पुर्याउन सरकारसँग आग्रह गरिन् । एमालेका सांसद चन्देश्वर मण्डलले पुर्वप्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्नु उचित नभएको बताए ।

श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले नजिकिँदै गरेको चाडपर्वमा बढ्दो महँगी, कालोबजारी र असुरक्षित यातायात हुन नदिने बताइन् ।

रास्वपाका सांसद आकृति अवस्थीले जेनजी आन्दोलनमा सहभागी भएका निर्दोष नागरिकलाई यथासिघ्र न्याय दिनुपर्ने बतायन् ।

कांग्रेसका सांसद भरतबहादुर खड्काले अन्तरराष्ट्रिय क्षेत्रमा नेपालले विश्वश्नीयता बढाउनुपर्ने अवस्था आएको बताए । एमालेका सांसद टुकाभद्रा हमालले अलैची खेती र त्यसको मूल्यमा आएको गिरावटले किसानलाई मर्का परेको बताउँदै अलैँचीको विश्वबजार विस्तारका लागि सरकारलाई तत्काल कूटनीतिक पहल गर्न माग गरे ।

रास्वपाका सांसद मनिष खनालले विद्यालयमा विद्यार्थी टिकाइ राख्न सरकारले आवश्यक कदम यथासिघ्र चाल्नुपर्ने सुझाव दिए । एमालेका सांसद एसुदाकुमारी बरालले राज्यको स्रोत र पहुँचबाट कर्णाली प्रदेशलाई वञ्चित नगर्न आग्रह गरे ।

रास्वपाका सांसद राजन गौतमले व्यवस्था होइन, अवस्था सुधार्न जेनजी पुस्ता उदाएको बताए । रास्वपाका सांसद शम्भुप्रसाद ढकालले पछिल्लो राजनीतिक नेतृत्वले विगतमा गरेको गल्ती सच्चाएर जनताको हितमा समर्पित हुनुपर्ने धारणा राखे ।

रास्वपाका सांसद रञ्जु न्यौपाने काठमाडौँमा नयाँ ट्याक्सी दर्ता बन्द भएको र ट्याक्सी श्रमिकलाई अन्याय भएको विषयमा ध्यानाकर्षण गराइन् । रास्वपाका कामिनी कुमारीले महोत्तरीको गौशाला नगरपालिका–५ कित्ता नम्बर ११५ मा बसोबास गर्दै आएका स्थानीय हाल समस्यामा परेकाले उचित बासस्थानको व्यवस्था गर्न माग गरिन् ।

बैठकमा सांसदहरु श्रीधर पोखरेल, रुवीना आचार्य, सागर भुसाल र प्रकाश पाठकले समेत नागरिकका समसामयिक विषयबारे आ–आफ्नो धारणा राखेका थिए ।